पर्सा सशस्त्रका नयाँ एसपी भट्टको पहिलो एक्सन: तस्करीमाथि कडा प्रहार, लाखौंको कपडा र मोटरसाइकल बरामद

समाचार

वीरगञ्ज, ५ साउन ।
पर्सामा हालै मात्र पदस्थापन भएका सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणका प्रमुख एसपी पुरन चन्द्र भट्टले कार्यभार सम्हालेको केही घण्टामै ठुलो कारवाही गर्दै तस्करीमाथि कडा प्रहार गरेका छन्। एसपी भट्टको निर्देशनमा सशस्त्र प्रहरीले पर्साको सिमाक्षेत्रबाट लाखौं रुपैयाँ बराबरको अबैध कपडा र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

एसपी राधेश्याम धिमालले आफ्नो १३ महिनाको कार्यकालमा उल्लेखनीय कार्य गर्दै काठमाडौं स्थित सशस्त्र प्रहरी प्रधान कार्यालयमा सरुवा भएपछि, एसपी भट्टलाई पर्साको जिम्मेवारी दिइएको हो। कार्यभार सम्हालेको छोटो समयमै उनले तस्करहरूलाई कडा सन्देश दिँदै, सिमाक्षेत्रमा शान्ति, सुरक्षा र सुशासन कायम गर्ने दृढता देखाएका छन्।

एसपी भट्टको निर्देशनमा, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका अन्तर्गत डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) सप्रनाउ कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलीले पर्सा जिल्लाको ग्रामीण सिमाना बिन्दबासिनी गाउँपालिका–४, अम्मरपट्टी झौवा नजिकैबाट अबैध कपडा तस्करीको प्रयास विफल पार्दै ठूलो मात्रामा सामग्री नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार, ना.९प.६१५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरिएको अबैध कपडासहित समातिएको सामानको कुल मूल्य २ लाख १८ हजार ८ सय रुपैयाँ बराबरको छ। समातिएका कपडा र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

एसपी भट्टले सिमाक्षेत्रमा शान्ति, सुरक्षा, तस्करी नियन्त्रण, तथा आम जनताको जीवन र सम्पत्तिको सुरक्षाका लागि सशस्त्र प्रहरी सदैव गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पारे। “सशस्त्र प्रहरी बलले सिमामा कुनै पनि अबैध गतिविधि सहने छैन,” उनले चेतावनी दिए।

स्थानीय बासिन्दाहरूले पनि नयाँ एसपी भट्टको सक्रियता र सुरुवाती कदमको स्वागत गरेका छन्। सशस्त्र प्रहरीको यो कारबाहीले सिमाक्षेत्रमा तस्करी रोकथाममा थप आशा र विश्वास थपिएको देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *