काठमाडौँ, साउन ५ ।
खानेपानी मन्त्री प्रदीप यादवको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटार तथा वरपरका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतको प्राइमरी पाइपलाइन सफलतापूर्वक बिछ्याइएको छ।
खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (PID) द्वारा प्रविधिमैत्री Horizontal Directional Drilling (HDD) विधिबाट ३१५ मिमि / २८० मिमि HDPE पाइपलाइन बिछ्याउने कार्य सम्पन्न गरिएको हो। यस पाइपलाइनमार्फत मेलम्चीको शुद्ध र स्वच्छ पानी निकट भविष्यमै वितरण गरिने जनाइएको छ।
यस आयोजनाबाट बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वंशीधर मार्ग पश्चिम र सुवर्ण शम्शेर सडक क्षेत्रका करिब ३५०० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ।
मन्त्री यादवले परियोजनाको सफलतामा सहयोग पुर्याउने सम्पूर्ण स्थानीयवासी, इन्जिनियर, प्राविधिक तथा कर्मचारीप्रति आभार प्रकट गर्दै उपत्यकावासीलाई स्वच्छ तथा नियमित खानेपानी पुर्याउने अभियान निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
