सशस्त्र प्रहरी पर्साको सक्रिय अभियान : अवैध सामान तथा मोटरसाइकलसहित करिब ८.८६ लाख मूल्य बराबरको मालसामान भन्सार दाखिला

समाचार

पर्सा, १६ साउन ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्सा र मातहत युनिटहरूको सक्रियता तथा योजनाबद्ध सुराकीका आधारमा भन्सार छलि नेपाल भित्र्याइएको करिब रु. ८,८६,७२५ बराबरको अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिई भन्सारमा दाखिला गरिएको छ।

मिति २०८२।०४।१६ गते, वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकस्थित नं.१३ गण पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएको रु. १,५८,१०० बराबरको कपडा र किराना सामान तथा रु. १,५०,००० मूल्य बराबरको दुई वटा मोटरसाइकल सहित जम्मा रु. ३,०८,१०० बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको हो।

त्यस्तै, मिति २०८२।०४।१५ गते, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा र भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज म.न.पा.–१२ मुरलीचोकस्थित रुद्रानी ट्रेडर्स र राजिव केमिकल एण्ड सप्लायर्स को गोदाममा भण्डारण गरिएको रु. ४,७३,५२५ बराबरको आईसक्रिमको कच्चा पदार्थ नियन्त्रणमा लिई आजै भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, आजकै मितिमा सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. सिर्सियाबाट खटिएको टोलीले रु. ६४,००० मूल्य बराबरको कपडा, तथा बीओपी ठोरीबाट विभिन्न मितिमा खटिएको टोलीले रु. २६,२०० बराबरका विभिन्न प्रकारका सामानहरू नियन्त्रणमा लिई भन्सारमा बुझाएको जानकारी सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले दिएका छन्।

सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा भन्सार चोरी तथा तस्करी नियन्त्रण अभियान प्रभावकारी रूपमा अगाडि बढिरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *