मानव बेचबिखन नियन्त्रण विषयक सीमा समन्वय बैठक सम्पन्न : पर्साका सरोकारवालाहरूको संयुक्त सहभागिता

समाचार

पर्सा, १६ साउन ।
मानव बेचबिखन नियन्त्रणसम्बन्धी सचेतना, सहकार्य र सीमा समन्वयलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा तथा ‘आफन्त नेपाल पर्सा’ को संयुक्त आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न उक्त कार्यक्रम २०८२ साल साउन १६ गते (२०२५ अगष्ट १) बिहान १०:०० बजे वीरगञ्ज महानगरपालिका–१० स्थित दियालो होटलको सभा हलमा आयोजना गरिएको हो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयले अध्यक्षता गरेका थिए भने जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र रहेका थिए।
त्यसैगरी, सशस्त्र प्रहरी बल गण नं.१३ पर्साका प्रमुख एसपी पुरन चन्द्र भट्ट, भारतीय महावाणिज्य दूतावास पर्साका प्रतिनिधि, तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रमुख, सञ्चारकर्मी, नागरिक समाज, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल–भारत सीमावर्ती क्षेत्रमा मानव बेचबिखनको चुनौती दिन प्रतिदिन जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न दुवै देशका सुरक्षाकर्मी, गैरसरकारी संस्था, सञ्चारमाध्यम, स्थानीय सरकार र नागरिक समाजबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।
विशेषगरी, सीमामा हुने महिला तथा बालबालिका लक्षित तस्करी, जबरजस्ती श्रम र यौन शोषणजन्य घटनाहरूलाई न्यून पार्न सुरक्षा निकायको गम्भीर अनुगमन र स्थानीय तहको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरियो।

कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले सीमापार अपराध रोकथामका लागि सूचना आदानप्रदान प्रणालीलाई मजबुत बनाउने, मानव बेचबिखनसम्बन्धी घटनाको शीघ्र अनुसन्धान र दोषीमाथि कडा कारबाही गर्ने, साथै सीमावर्ती क्षेत्रका बासिन्दालाई निरन्तर सचेतना दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम समापनका क्रममा आयोजक संस्थाहरूले सरोकारवाला निकायहरूबीच नियमित समन्वय बैठक आयोजना गर्ने, कार्यगत सहकार्यलाई संस्थागत रूपमा अगाडि बढाउने तथा मानव बेचबिखन विरुद्धको साझा रणनीति निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

मानव बेचबिखनविरुद्धको अभियानलाई अझ सशक्त बनाउन यो कार्यक्रम एक प्रभावकारी पहलका रूपमा रहेको सहभागीहरूको धारणा थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *