खडेरीबाट ग्रस्त तराईमा वर्षाले ल्यायो हरियाली, स्थायी सिँचाइ समाधानमा सरकारको प्रतिबद्धता : प्रधानमन्त्री ओली

समाचार

काठमाडौँ ,२५ साउन । प्रधानमन्त्री केपि शर्मा ओलीले खडेरीले प्रभावित तराईमा वर्षाले फेरि हरियाली फर्काउन थालेको बताएका छन्। सामाजिक सञ्जालमार्फत मन्तव्य सार्वजनिक गर्दै उनले पछिल्ला दिनमा परेको वर्षाले किसानको खेतमा हरियो सपना पुनः अंकुराउन थालेको उल्लेख गरेका छन्।

उनका अनुसार यसवर्षको खडेरीले अन्नको भण्डार मानिने तराईका धेरै खेतमा धाँजा परेर रोपाइँ गर्न नसक्ने अवस्था सिर्जना भएको थियो। जहाँ रोपाइँ भएको थियो, त्यहाँ पनि पानीको अभावले रोपो सुक्ने अवस्था आएको थियो। किसानको पीर, पसिना र सपना माटोमै सुक्न लागेको बेला सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै तत्काल राहत र सहयोगका लागि विशेष निर्णय गरेको उनले स्मरण गरे।

प्रधानमन्त्री ओलीले तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम सुरु भइसकेको र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सन परियोजना अगाडि बढाइएको जानकारी दिए।

“यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ, र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ,” उनले भने।

आगामी वर्षदेखि आकासे वर्षामा मात्र निर्भर नभई स्थायी सिँचाइ व्यवस्था कार्यान्वयन गर्ने सरकारको संकल्प रहेको उल्लेख गर्दै उनले किसानको मुस्कान, जमीनको हरियाली र खाद्यान्न सुरक्षालाई आफ्नो प्रमुख लक्ष्य भएको दोहोर्‍याए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *