प्रधानमन्त्री ओलीद्वारा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना

समाचार

काठमाडौं, साउन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन पर्वको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले यी पर्वलाई सत्य, शुद्धता, स्वअनुशासन, आत्मीयता र मानव सभ्यताप्रतिको सम्मानको प्रतीकका रूपमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले जनै पूर्णिमालाई मनाउँदै आएका छन् । जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो । प्राचीन विद्वानका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरूप ऋषि तर्पणी मनाइन्छ ।” उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

आजको दिन वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, पोखरीमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रसहित नयाँ यज्ञोपवीत (जनै) धारण र रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ । धार्मिक विश्वासअनुसार विधिपूर्वक मन्त्रिएको रक्षासूत्रले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्छ । यस दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा र तर्पण गरिने भएकाले यसलाई ‘ऋषि तर्पणी’ पनि भनिन्छ ।

पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोक विनायक, बाग्मती किनारलगायत देशभरका मठ–मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरको धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु, नवलपरासीको त्रिवेणीधामलगायतका तीर्थस्थलमा आज विशेष मेला लागेको छ ।

तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षा बन्धन पर्व मनाउने परम्परा छ, जसले आपसी प्रेम र सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिएको छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *