पर्सा, २ भदौ ।
सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेशका डिआईजी कृष्ण ढकालले नागरिक सम्मानलाई सबैभन्दा ठूलो सम्मानको रूपमा परिभाषित गर्दै सुरक्षाकर्मीहरुलाई नागरिकमैत्री वातावरण निर्माणमा जोड दिन आग्रह गरेका छन्।
बिरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित Best Integrity Award Programme – २०८२ मा सम्बोधन गर्दै डिआईजी ढकालले भने, “नागरिक सम्मान भनेको सबैभन्दा ठूलो सम्मान हो। नागरिकलाई सहज महसुस हुने, सुरक्षित अनुभव गर्ने र शान्ति–सुरक्षाको प्रत्याभूति हुने वातावरण सिर्जना गर्नु सुरक्षाकर्मीको प्रमुख दायित्व हो।”
उनले मधेस प्रदेशभर सशस्त्र प्रहरीले जनविश्वासलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै सुरक्षाकर्मीलाई थप जिम्मेवार, पारदर्शी र निष्ठावान भएर सेवा दिन निर्देशन गरे। ढकालका अनुसार नागरिकको भरोसा जित्नु नै सुरक्षाकर्मीको ठूलो सफलता हो र यही आधारमा राज्य र जनताबीचको सम्बन्ध अझ प्रगाढ बन्छ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका डिएसपी लोकेन्द्र सुब्बा Integrity Award बाट सम्मानित भएका छन्। बिरगंज गुल्मका गुल्मपति रहेका बेला सुब्बाले तस्करी नियन्त्रणदेखि सिमा सुरक्षा मजबुत बनाउने काममा देखाएको उत्कृष्ट नेतृत्व र योगदानको उच्च मूल्यांकन गर्दै उनलाई प्रशंसापत्र प्रदान गरिएको हो।
उद्योग वाणिज्य संघका पदाधिकारीहरूले डिएसपी सुब्बाको कार्यक्षमता र समर्पणलाई उदाहरणीय रहेको उल्लेख गर्दै उनको नेतृत्वमा गुल्मले देखाएको सक्रियताले सीमावर्ती क्षेत्रमा सुरक्षाको स्तर अभूतपूर्व रूपमा बढाएको बताएका छन्।
कार्यक्रममा उद्योगी, व्यापारी, सुरक्षाकर्मी तथा स्थानीयबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सुरक्षाकर्मीको समर्पण र प्रयासले मात्र नागरिकले सहज र सुरक्षित वातावरण पाउने भएकाले यस्ता सम्मानले सुरक्षाकर्मीको हौसला अझ बढाउने विश्वास व्यक्त गरेका थिए।
यसरी नागरिकमैत्री सुरक्षा, तस्करी नियन्त्रण र सीमाको सुरक्षा सुदृढीकरणमार्फत जनविश्वास जित्ने सुरक्षाकर्मीको प्रयासलाई ‘Integrity Award’ मार्फत मूल्यांकन गरिएको छ, जसले आगामी दिनमा सुरक्षाकर्मीको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ।
