बारा, १३ भदौ ।
सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै सशस्त्र प्रहरी बल बाराले करिब १० लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल बाराका प्रमुख एसपी खुमबहादुर केसीको सक्रियता र निर्देशनमा खटिएको प्रहरी टोलीले विभिन्न नाकाबाट भारततर्फबाट ल्याइँदै गरेका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल बाराका अनुसार,
१. कलैया उमनपा–६, बरेवा
मिति २०८२ भदौ १३ गते नं.१२ गण हे.क्वा. बाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक परमानन्द मुखियाको कमाण्डमा खटिएको टोलीले दुई वटा मोटरसाइकल प्रयोग गरी तस्करी गर्न लागिएको सामान नियन्त्रणमा लिएको हो । बरामद सामानमा कपडा, चकलेट र खजुर रहेका छन् । उक्त सामानको अनुमानित मूल्य करिब रु. ७,७१,३८० बराबर रहेको प्रहरीले जनाएको छ ।
२. पचरौता–०२, श्रीनगर बैरिया
सोही दिन अर्काे टोलीले मोटरसाइकलसहित किराना सामान बरामद गरेको छ । उक्त किराना सामानको अनुमानित मूल्य करिब रु. १,९०,००० रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
३. वि.ओ.पी. बरैनिया
यसैगरी वि.ओ.पी. बरैनियाबाट खटिएको टोलीले ढोकामा प्रयोग हुने ताल्चा बरामद गरेको छ । बरामद ताल्चाको अनुमानित मूल्य करिब रु. ७१,००० बराबर रहेको छ । बरामद गरिएका सबै सामान भन्सार बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।
सशस्त्र प्रहरी बल बाराका प्रमुख एसपी खुमबहादुर केसीले तस्करीविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन निरन्तर निगरानी भइरहेको बताए ।
उनले भने, “सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार रोक्न सशस्त्र प्रहरी बल कटिबद्ध छ । बरामद गरिएका सामान आवश्यक कानूनी प्रक्रिया पूरा गरी भन्सारमा बुझाइनेछ ।”
त्यस्तै, उनीहरूले सिमाना क्षेत्रमा स्थानीयवासीको सहयोग पनि आवश्यक रहेको भन्दै सर्वसाधारणलाई तस्करीजस्तो गैरकानूनी कार्यमा संलग्न नहुन आग्रह गरेका छन् ।
बारा जिल्लामा भारतसँगको खुला सिमाना भएकाले साना–ठूला सामान तस्करी हुने चुनौती रहेको छ । सशस्त्र प्रहरी बलले पछिल्ला दिनमा बारामा मात्र नभई मधेस प्रदेशका विभिन्न नाकामा तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिइरहेको छ ।
प्रहरीका अनुसार, तस्करीमा संलग्न जो–कोहीलाई आवश्यक कानूनी कारबाही गरिने छ भने बरामद गरिएका सामान भन्सारमा बुझाइने प्रक्रिया अगाडि बढाइनेछ ।
