पर्सा, ८ असोज।
जिल्ला प्रहरी कार्यालय पर्साको कमान्ड सम्हालेको केही घण्टामै प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक नेतृत्वको प्रहरी टोलीले ठूलो सफलता हात पारेको छ। केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाण्डौबाट कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका कैदी फरार भई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्ला कालिकामाई गाउँपालिका–५ सिमरामा बस्ने ४० वर्षीय मुक्तिनारायण कुर्मीलाई पक्राउ गरेको हो। उनी आफ्नै श्रीमती ३५ वर्षीया सङ्गिता देवी कुर्मीनलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्सा जिल्ला अदालतले २५ वर्ष कैद सजाय तोकेको थियो।
कुर्मीलाई मिति २०८२ भदौ २४ गते Generation-Z (Gen-Z) आन्दोलनका क्रममा उत्पन्न अवस्थाको फाइदा उठाई केन्द्रिय कारागार जगन्नाथदेवलबाट फरार भएको खुलेको छ। त्यसयता उनी आफ्नै गाउँमा लुकीछिपी बस्दै आएका थिए। प्रहरीको सूक्ष्म अनुसन्धान र विशेष सुराकीका आधारमा मिति २०८२ असोज ७ गते साँझ ७:३० बजे प्रहरीले उनलाई घरमै घेरा हालेर नियन्त्रणमा लिएको हो।
पक्राउ परेका फरार कैदीको विवरण
- नाम: मुक्तिनारायण कुर्मी
- उमेर: ४० वर्ष
- ठेगाना: पर्सा, कालिकामाई गाउँपालिका–५
- कैदी आईडी नं.: 3888168
- मुद्दा: ज्यान सम्बन्धी कसूर (कर्तव्यज्यान)
- सजाय: २५ वर्ष कैद
- फरार भएको मिति: २०८२।०५।२४
- पक्राउ मिति: २०८२।०६।०७
एसपी पाठकको प्रतिबद्धता
कमान्ड सम्हाल्नेबित्तिकै यस्तो ठूलो सफलता हात पार्दै एसपी सुदिप राज पाठकले पर्सामा तस्करी नियन्त्रण, अपराध नियन्त्रण तथा समाजमा शान्ति–सुरक्षा स्थापना गर्न कुनै सम्झौता नगर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
पर्सा खुला सिमाना भएकाले तस्करी, आपराधिक गतिविधि तथा शान्ति–सुरक्षामा चुनौती रहेको भन्दै उनले चुनौतीलाई दृढतापूर्वक सामना गर्दै जिल्लामा अमन–चयन कायम गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, जिल्ला प्रहरी कार्यालयलाई बिचौलियामुक्त बनाउने, आम नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रही समस्या सुन्ने र समाधान गर्ने आफ्नो प्राथमिकता हुने बताएका छन्।
यसपटक पक्राउ गरिएको फरार कैदीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कारागार कार्यालयमा पठाउने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले जनाएका छन् ।
