सिमाको पहिलो रक्षक सिमावासी नै हुन् : एसपी भट्ट

समाचार

पर्सा, १२ असोज ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण हे.क्वा.पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले सिमाको वास्तविक र पहिलो रक्षक सिमावासी नै भएको बताएका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका–४ लहावरथकरीमा सशस्त्र प्रहरीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले सिमाको सुरक्षा सिमावासीको सक्रिय सहकार्यबिना अधुरो रहने स्पष्ट पारे ।

उनका अनुसार सशस्त्र प्रहरी मुख्यालयको निर्देशनअनुसार सशस्त्र प्रहरी बलले सिमावासीसँग सुमधुर सम्बन्ध कायम गर्दै आएको छ । यसै माध्यमबाट सिमावासीको समस्या सम्बोधन गर्न, आपसी विश्वास बढाउन र सिमामा हुने असामाजिक गतिविधि नियन्त्रणमा प्रभावकारी योगदान पुर्‍याउन सशस्त्र प्रहरी निरन्तर प्रतिबद्ध रहेको उनले बताए ।

दशैँको अवसर पारेर गरिएको उक्त कार्यक्रममा एसपी भट्टले सिमावर्ती क्षेत्रका विपन्न तथा गरिब परिवारलाई नयाँ कपडा वितरण गरे । उनले दशैँलाई सबै नेपालीको साझा चाड बताउँदै भने, “दशैँमा सबैको चाहना हुन्छ—नयाँ कपडा लगाउने, मिठो परिकार खाने । तर विपन्न र गरिब परिवारका लागि त्यो चाहना पूरा हुन गाह्रो हुन्छ । सशस्त्र प्रहरी बलले गरेको यो सानो पहलले कम्तीमा पनि उनीहरूले दशैँको रमाइलो महशुस गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।”

एसपी भट्टले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले जानकारी दिँदै भने, “दशैँको अवसरमा हामीले बिरगंज महानगरपालिका–१६ स्थित मितेरी पुलनजिकका विपन्न तथा गरिब परिवारसँगै बसि मिठो परिकार बनाई खाने योजना पनि गरेका छौं । यसले प्रहरी र नागरिकबीच अझ घनिष्ट सम्बन्ध कायम गर्नेछ ।”

कार्यक्रममा स्थानीयवासीले सशस्त्र प्रहरी बलको प्रयासको प्रशंसा गर्दै सिमाको सुरक्षा र समाजसेवामा प्रहरीको सक्रियताले सिमावासीलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका थिए ।

सशस्त्र प्रहरी बलका एसपी भट्टले सिमावासीलाई सिमाको पहिलो रक्षकका रूपमा सम्मान गर्दै आपसी सहकार्य र सामाजिक उत्तरदायित्वलाई जोड दिएको यस कार्यक्रममा सशस्त्र प्रहरीको मानवीय पहलले दशैँलाई अझ अर्थपूर्ण बनाउन सहयोग पुगेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *