सशस्त्र प्रहरी बाराद्वारा तस्करी संजालमाथि कडा प्रहार : ३६ लाख बढीको पिकअप गाडी र कपडा बरामद, २ जना पक्राउ ।

समाचार

बारा, १२ असोज ।
सशस्त्र प्रहरी बल नम्बर १२ गण मुख्यालय, बाराले तस्करीविरुद्धको विशेष अभियान सञ्चालन गर्दै ठूलो सफलता हात पारेको छ। गणपति प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा गरिएको कारवाहीमा ३६ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामानसहित पिकअप गाडी बरामद गरिएको हो।

घटना आइतबार बिहान करिब ३:४० बजे घटेको हो। जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका–१ बोहा जमुनिया भित्री सडकखण्डमा सुरक्षा बेस तेलकुवाबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनानी) संजय कुमार यादवको टोलीले विशेष सूचनाका आधारमा चेकपोइन्ट स्थापना गरी चेकजाँच गरेको थियो। सो क्रममा कोतवालीबाट लंगडा चोकतर्फ आउँदै गरेको बागमती प्रदेश–०१-०२५ च ६१७६ नम्बरको पिकअप (युद्धा) गाडी नियन्त्रणमा लिइएको थियो।

चेकजाँच गर्दा गाडीमा करिब रु १५ लाख ८५ हजार ५ सय बराबरको लेडिज रेडिमेड कपडा, करिब रु ५० हजार मूल्य बराबरका ६० बन्डल नागिन पटका तथा करिब रु २० लाख मूल्य बराबरको पिकअप गाडी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यसरी बरामद गरिएको अवैध सामान, गाडी तथा दुई जना व्यक्तिसहितको कुल मूल्य करिब रु ३६ लाख ३५ हजार ५ सय पुगेको बताइएको छ।

बरामद गरिएको सामान र नियन्त्रणमा लिइएका दुई व्यक्तिलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको छ। साथै, बरामद गरिएका पटाका भने सुरक्षाका दृष्टिले पेरिमिटर भित्र खाल्डो खनी नष्ट गरिने सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बाराका प्रमुख एसपी खुमबहादुर केसीले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी निरन्तर सक्रिय रहेको र आगामी दिनमा पनि सीमा सुरक्षासँगै राजस्व चुहावट रोक्न यस्ता अभियानलाई थप कडाइ गर्ने बताए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *