वीरगञ्ज, ३ साउन । फेक फेसबुक अकाउन्ट र मेसेन्जर आईडी प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, ठगीमा संलग्न व्यक्तिहरूले सञ्जय पटेलको नाममा नक्कली मेसेन्जर आईडी बनाई शिवपुजन बैठालाई “म समस्यामा छु” भन्दै विश्वासमा पारी रु. २ लाख ५० हजार ठगी गरेका थिए।
पीडितको निवेदन प्राप्त भएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाई उनीहरूको नाममा बैंक खाता र सिमकार्ड सञ्चालन गरी अनलाइन ठगी गर्ने समूह सक्रिय रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
यस प्रकरणमा बारा जिल्लाको प्रसौनी गाउँपालिका–१ निवासी २० वर्षीय जस्मुदिन अन्सारी र पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–१ निवासी २० वर्षीय विशाल पटेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत आउने आर्थिक सहयोग वा रकम माग्ने सन्देशप्रति सतर्क रहन तथा रकम पठाउनु अघि सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गरी यकिन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
