सशस्त्र प्रहरी पर्सा गुल्म अलौका डिएसपी पुजाराको कमान्डमा पौने तीन लाख बराबरको सामान र मिनिट्रक बरामद

समाचार

बिरगंज, २४ असोज।
सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णसिंह पुजाराको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले अबैध तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। उक्त टोलीले दुई दिनको अन्तरालमा करिब रु. २ लाख ७० हजार बराबरका अवैध मालसामान बरामद गरेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार, असोज २३ गते करिब रु. १ लाख ६५ हजार मूल्य बराबरका किराना तथा Pumpkin Seeds (फर्सीका बीउ) लगायतका सामग्री बरामद गरिएको थियो। सोही क्रममा असोज २४ गते पनि रु. १ लाख ५ हजार बराबरका विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू नियन्त्रणमा लिइए। बरामद गरिएका ती सबै वस्तुहरू आवश्यक प्रक्रिया पूरा गरी बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

यसैबीच, सशस्त्र प्रहरी बल पर्साले अर्को सफलताका रूपमा बिना बिल–बिजकको १०६० लिटर पाम आयल सहितको एक मिनिट्रक (ना १ क २८३६) पनि नियन्त्रणमा लिएको छ। उक्त सवारी साधन बिरगंजबाट पोखरिया तर्फ जाँदै गरेको अवस्थामा बिरगंज आईसीपी चौक नजिकैबाट नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको उक्त मिनिट्रक र पाम आयलसमेतका सामानहरू आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बुझाउने प्रक्रिया चलिरहेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

सशस्त्र प्रहरी बलका डिएसपी कृष्णसिंह पुजाराको नेतृत्वमा पछिल्ला दिनमा सिमाक्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। सीमाबाट हुने अवैध व्यापार, कर छलि तथा राजस्व चुहावट नियन्त्रणका लागि प्रहरी टोलीहरू नियमित गस्ती, निगरानी र चेकजाँचमा खटिएका छन्।

स्थानीयवासीहरूले सशस्त्र प्रहरीको यो सक्रियतालाई प्रशंसा गर्दै सिमाक्षेत्रमा सुरक्षाको विश्वसनीयता अझ मजबुत भएको बताएका छन्। सशस्त्र प्रहरी बलले भने आगामी दिनहरूमा पनि तस्करी नियन्त्रण र सिमा सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *