तिहारमा प्लास्टिक माला प्रतिबन्ध, काठमाडौँ महानगरले ३२ स्थानमा स्वदेशी फूलमाला बिक्रीका लागि व्यवस्था गर्‍यो

समाचार

काठमाडौँ, २४ असोज ।
काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहार पर्वमा प्लास्टिकजन्य फूलमालाको बिक्री र वितरणमा पूर्ण प्रतिबन्ध लगाउँदै स्वदेशी फूलमालाको प्रोत्साहनका लागि ३२ स्थानमा बिक्री–वितरण स्थल व्यवस्था गरेको छ।

महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “हामी विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुको निरुत्साहनमा निरन्तर लागि परेका छौँ। हाम्रो उद्देश्य नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनु र आयातित तथा प्लास्टिक मालालाई पूर्ण रूपमा निषेध गर्नु हो।”

उनका अनुसार महानगरले नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा किसानलाई बजारसम्म सहज पहुँच दिलाउने, ढुवानीमा सहयोग गर्ने र अवैध माला बिक्री गर्नेहरूमाथि कडा कारबाही गर्ने तयारी गरेको छ। साथै, कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन पनि गरिने जनाएको छ।

“हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गर्न सकून् भन्ने हो,” मेयर शाहले भने।

नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको उल्लेख गर्दै उनले यस तिहारमा सबैलाई स्वदेशी फूलको प्रयोग गर्न आग्रह गरे। “आफ्नो संस्कृति र नेपालमै फुलेका फूल हाम्रो पहिचान हुन्, यही हाम्रो सम्मान हो,” उनले जोड दिए।

महानगरले स्वदेशी फूलमाला बिक्रीका लागि तोकेका ३२ स्थानहरू यस प्रकार छन् –
एन.भी. सेन्टर (नयाँ बानेश्वर), बिग मार्ट (शंखमूल), आइ प्लेक्स मल (नयाँ बानेश्वर), सेल्सबेरी (मध्यबानेश्वर), फोनेक्स टावर (बत्तीसपुतली), तिनकुने चौर, सिफल चौर, एसी कम्प्लेक्स (चाबहिल), चाबहिल गणेशस्थान तरकारी बजार, के.एल. टावर पूर्व, चाबहिल सेन्टर अगाडि, धर्म चक्र पार्क (स्वयम्भू), कालिमाटी ब्याङ्क्वेट, द्यौखेल (कालिमाटी), भाटभटेनी (कलङ्की), भ्याली कोल्ड स्टोर (नयाँ बजार), बुद्ध महल (माछापोखरी), गुणस्तर खाल्डो (माछापोखरी), वडा ५ अगाडिको डबली (हाँडीगाउँ), गणेश मन्दिर डबली (हाँडीगाउँ), कोइराला स्मार्ट (सामाखुशी, वडा २६), सेल्सबेरी (महाराजगञ्ज), बिग मार्ट (गङ्गबु, चपलकारखाना, बालुवाटार), आइटी भवन (कमलादी, वडा २८), स्टार मल (पुतलीसडक, वडा २८), भाटभटेनी (अनामनगर, वडा ९), टेवाल मन्दिर (सुन्धारा), काठमाडौँ महल (सुन्धारा), वडा कार्यालय निर्माण स्थल (अद्धेतमार्ग, वडा २८) र बजरा कम्प्लेक्स (न्यू प्लाजा, गुडमार्ट)।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *