पर्सा, २४ असोज ।
पर्सा जिल्लामा पछिल्लो समय सशस्त्र प्रहरी बलले सञ्चालन गरेको सुरक्षा अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हे.क्वा. पर्साका प्रमुख एसपी पुरनचन्द्र भट्ट र प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी पुरुषोत्तम भण्डारीको संयुक्त नेतृत्वमा तस्करी नियन्त्रण, सिमा सुरक्षा, जनधनको रक्षा तथा विस्फोटक पदार्थ नियन्त्रण अभियान प्रभावकारी रूपमा अगाडि बढाइएको छ।
चाडपर्व नजिकिँदै गर्दा भारतसँगको खुला सिमानामा हुने गैरकानूनी गतिविधि, तस्करी, विस्फोटक पदार्थ र पटाका प्रवेश नियन्त्रण गर्न सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ। यस क्रममा विभिन्न स्थानमा चेकपोस्ट र मोबाइल गस्ती टोलीमार्फत कडा चेकजाँच सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
फलफूलका कार्टुनभित्र लुकाइएको विस्फोटक पदार्थ पटाका बरामद

डिएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा रहेको सशस्त्र प्रहरी टोलीले बिरगञ्ज–१६ भन्सार चेकपोस्टमा तालीम प्राप्त कुकुर टोलीको सहयोगमा विशेष चेकजाँच अभियान चलाएको थियो। सोही क्रममा बा १२ च ३१०३ नम्बरको कारमा फलफूलका कार्टुनभित्र लुकाइएका भारी मात्रामा विस्फोटक पदार्थ (पटाका) फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
कार चालक गाडी छाडी फरार भएको र सशस्त्र प्रहरीले उक्त कार नियन्त्रणमा लिएर विस्तृत चेकजाँच गर्दा विस्फोटक पदार्थ बरामद भएको हो। बरामद कारको मूल्यांकन करिब रु. १८ लाख गरिएको छ। उक्त कार आवश्यक कारबाहीका लागि बिरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको बताइएको छ।पटाका नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
ई–रिक्सा र किराना सामान बरामद

त्यसैगरी असोज २३ गते राति ९:१५ बजे, सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले बिरगञ्ज महानगरपालिका–९, टाँगास्टेशन नजिकै भारतबाट भन्सार छली ल्याइँदै गरेको ई–रिक्सा नियन्त्रणमा लिएको छ।
मधेश प्रदेश ०३–००१ ह ३०४० नम्बरको ई–रिक्सामा लोड गरिएको अवैध किराना सामान सहित सो रिक्साको कुल मूल्य करिब रु. २ लाख ७० हजार बराबर रहेको बताइएको छ। सशस्त्र प्रहरीले उक्त सामान र सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।
छपकैयामा छापा, लाखौंको कपडा र जुत्ता बरामद

एसपी पुरनचन्द्र भट्टको निर्देशनमा डिएसपी भण्डारीको नेतृत्वमा सशस्त्र प्रहरी टोलीले बिरगञ्ज–१ छपकैया क्षेत्रमा छापा मार्दा लाखौं मूल्यको भन्सार छलिएका कपडा र जुत्ता बरामद गरेको छ। यी सबै गतिविधिले चाडपर्वअघि सीमाक्षेत्रमा बढ्दो तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको दृढता देखाएको छ।
“सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो” — एसपी भट्ट
सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी पुरनचन्द्र भट्टले भने,
“चाडपर्व नजिकिँदै गर्दा सिमानाक्षेत्रमा गैरकानूनी गतिविधि बढ्ने सम्भावना रहन्छ। त्यसैले हामीले निगरानी र अनुगमन थप कडाइ गरेका छौं। हाम्रो उद्देश्य जनताको सुरक्षासँगै चाडपर्व शान्त र सुरक्षात्मक वातावरणमा मनाउन सकियोस् भन्ने हो।”
उनले सीमाक्षेत्रमा संयुक्त अनुगमन टोलीहरू पनि परिचालन गरिएको बताउँदै सशस्त्र प्रहरी बल पूर्ण सतर्क अवस्थामा रहेको स्पष्ट पारे।
जनतालाई सशस्त्रको आग्रह
सशस्त्र प्रहरीले आम नागरिकलाई पनि सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।
“यदि कसैले अवैध सामान ओसारपसार गर्ने वा सुरक्षालाई चुनौती दिने गतिविधि देख्नुभयो भने तुरुन्त प्रहरीलाई जानकारी दिनुहोस्। हाम्रो उद्देश्य जनताको सुरक्षा हो,” — एसपी भट्टले भने।
सीमाक्षेत्रमा सक्रियता बढ्दै
एसपी भट्ट र डिएसपी भण्डारीको संयोजनमा सञ्चालन भइरहेका यी अभियानहरू सशस्त्र प्रहरी बलको सक्रिय, जिम्मेवार र जनमुखी भूमिकाको उदाहरण बनेका छन्। पछिल्ला दिनमा सिमानाबाट हुने तस्करी, लागुऔषध कारोबार, अवैध हतियार प्रवेश तथा विस्फोटक पदार्थ र पटाका तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको छ।
पर्सा जिल्लामा सशस्त्र प्रहरी बलको बढ्दो सक्रियता र प्रभावकारी अभियानले सीमाक्षेत्रमा हुने गैरकानूनी गतिविधि रोक्न ठूला कदम चालेको छ। एसपी भट्ट र डिएसपी भण्डारीको संयोजनले सिमानाको सुरक्षा बलियो बनाउँदै नागरिकको जनधन र शान्ति–सुरक्षाको रक्षा गर्न सशक्त भूमिका निर्वाह गरिरहेको छ।
