जनतामा न्याय, भरोसा र विश्वास जगाउनु हाम्रो पहिलो जिम्मेवारी,बिचौलियालाई निषेध’, सिधै म कहाँ आए हुन्छ: एसपी पाठक

समाचार

पर्सा, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय ठोरी, पर्साको आयोजनामा ठोरी गाउँपालिका–२ स्थित प्रहरी कार्यालयको प्रतिक्षालयमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

असोज २७ गते दिउँसो ३ बजे आयोजित कार्यक्रममा सहभागीहरूले विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, लागुऔषध नियन्त्रण, सामाजिक अपराध न्यूनिकरण, स्थानीय तहसँग समन्वय गरी लागुऔषध समिति गठन गर्ने, साथै आगामी छठ र दीपावली पर्वमा शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नुपर्ने जस्ता विषयमा सुझाव राखेका थिए।

कार्यक्रममा भद्रभलाद्मी, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। सहभागीहरूको सुझावलाई सकारात्मक रूपमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र समुदायबीचको विश्वास बढाउने र समाजका विकृति–विसंगति नियन्त्रणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

एसपी पाठकले भने, “हामी परम्परागत ढाँचामा मात्रै सीमित छैनौं, फरक र प्रभावकारी ढंगले काम गर्न चाहन्छौं। जनताका गुनासा, ढिलासुस्ती, बिचौलियाको चलखेल र अनावश्यक दबाबजस्ता कारणले प्रहरीमाथि घटेको विश्वास पुनःस्थापित गर्न इमानदार ढंगले काम भइरहेको छ।”

उनले प्रहरी कार्यालयमा बिचौलियाको रजगज अन्त्य गरिएको उल्लेख गर्दै भने, “कोही नागरिक साँच्चै पीडामा छन् भने सिधै मकहाँ आए हुन्छ, बिचौलियाको कुनै आवश्यकता छैन। प्रहरीको नाममा दलालहरूले कमाइ गर्ने प्रचलन अब बन्द भएको छ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेर हाल पर्सा जिल्ला प्रहरी प्रमुखको रूपमा कमान्ड सम्हालेका एसपी पाठकले निष्पक्ष, पारदर्शी र जनमुखी प्रहरी सेवा सुनिश्चित गर्न प्रतिबद्धता जनाए।

उनका अनुसार, “प्रशासनिक काममा निष्पक्षता र न्यायपूर्ण व्यवहार अनिवार्य छ। गलत सिफारिस वा पहुँचको अभावका कारण कोही पीडित अन्यायमा पर्न नपरोस्, त्यसका लागि प्रहरीले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ।”

एसपी पाठकले नयाँ पुस्ताका प्रहरी अधिकृतहरूलाई जनताको विश्वास जित्ने खालको व्यवहार र सेवा प्रवाहमा सुधार ल्याउन आग्रह गर्दै भने, “जनतामा न्याय, भरोसा र विश्वास जगाउनु हाम्रो पहिलो जिम्मेवारी हो। प्रहरी र नागरिकबीच सहकार्य भए मात्र समाजमा शान्ति र सुरक्षा कायम रहन्छ।”

उनले सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणका लागि पनि विशेष कार्ययोजना (एक्सन प्लान) बनाई काम भइरहेको जानकारी दिए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *