बिर्ता प्रहरी निरीक्षक चौलागाईंको नेतृत्वमा पौने दश लाख बराबरका भन्सार छलीका सामान बरामद

समाचार

बिरगंज, ३१ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण अभियानलाई थप तीव्र बनाउँदै पौने दश लाख रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न सामानहरू बरामद गरेको छ। प्रमुख जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी एसपी सुदिपराज पाठकको निर्देशनमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको टोलीले उक्त सफलता हासिल गरेको हो।

प्रहरीका अनुसार  असोज ३० गतेका दिन प्रहरी निरीक्षक चौलागाईंको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरूमा संचालन गरिएको चेकजाँच तथा निगरानी कार्यका क्रममा भन्सार चोरी गरी ल्याइएका विभिन्न प्रकारका वस्तुहरू बरामद गरेको हो। बरामद गरिएका सामानहरूको अनुमानित मूल्य अन्दाजी रु. ९,८४,५८०।– (पौने दश लाख रुपैयाँ) रहेको बताइएको छ।

प्रहरीले बरामद गरेका सामानहरूमा लुगा–कपडा, जुत्ता, हार्डवेयर सामग्री, इलेक्ट्रोनिक उपकरणहरू, किराना सामानहरू लगायतका विभिन्न उपभोग्य वस्तुहरू रहेका छन्। यी सबै वस्तुहरू भन्सार चुहावट गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामानहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी असोज ३१ गते (२०८२।०६।३१) का दिन वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

एसपी सुदिपराज पाठकले भन्सार छलिने, तस्करी, तथा अवैध कारोबार विरुद्ध जिल्लाभरि निरन्तर निगरानी र कारवाही भइरहेको उल्लेख गर्दै भने, “अवैध रूपमा हुने कारोबार रोक्न प्रहरी सधैं सक्रिय छ। यस्ता कार्यमा संलग्न जो कोहीमाथि पनि कानूनी कारवाही हुनेछ।”

प्रहरी निरीक्षक निरोज चौलागाईंले भने, “हाम्रो टोलीले दैनिक गस्ती, सूचनाको आधारमा निगरानी र चेकजाँच कार्यलाई थप सशक्त बनाएको छ। यसरी बरामद भएका सामानहरूले तस्करी नियन्त्रणमा सकारात्मक प्रभाव पारेका छन्।”

प्रहरीले स्थानीयवासीलाई पनि तस्करी, भन्सार छलजस्ता गैरकानुनी गतिविधिहरूमा संलग्न नहुन र यस्ता घटनाबारे जानकारी भएमा तुरुन्त प्रहरीलाई सूचित गर्न आग्रह गरेको छ।

–– जिल्ला प्रहरी कार्यालय, पर्सा
स्रोत: बिर्ता प्रहरी कार्यालय, वीरगंज

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *