बिरगंज, २७ कार्तिक।
पर्साको बिरगंज महानगरपालिका–१६ ईनर्वामा सशस्त्र प्रहरीले बिहीबार साझ करिब ६ बजे दुई राउण्ड हवाई फायर गरेको छ।
सशस्त्र प्रहरी पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका टोलीका अनुसार विशेष सूचनाको आधारमा भारतबाट कपडा तस्करी भईरहेको जानकारी पाएपछि टोली उक्त क्षेत्रमा पुगेको थियो। सो क्रममा करिब १० देखि १५ जनाको समूहले भारतबाट करिब १५ पोका कपडा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले रोक्ने प्रयास गरेको थियो।
प्रहरीले तस्करीको मालसामान नियन्त्रणमा लिन खोज्दा समूहले ढुंगा–मुढा प्रहार गरेपछि परिस्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको गुल्म बिरगंजका डिएसपी पुरुषोत्तम भण्डारीले जानकारी दिएका छन्।
घटनापछि प्रहरीले केही कपडा नियन्त्रणमा लिएको र बाँकी कपडा लिएर तस्करहरू फरार भएको जनाइएको छ। सशस्त्र प्रहरीका अनुसार उक्त कपडा भन्सार छलिएको (अबैध) सामान हो भन्ने दाबी गरिएको छ।
