बीरगञ्ज, १० मंसिर ।
पर्सा जिल्लामा सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालन भइरहेको लागुऔषध नियन्त्रण अभियान थप प्रभावकारी बन्दै गएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार रोकथाममा कडा निगरानी राख्दै Intelligence Led Operation मार्फत निरन्तर अभियान चलाइरहेको छ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको नेतृत्वमा सञ्चालन भइरहेको अभियानले पछिल्लो समय जिल्लामा व्यापक प्रभाव पार्दै आएको छ। लागुऔषध दुर्व्यसनले समाजमा पार्ने दुरगामी नकारात्मक असरलाई मध्यनजर गर्दै, सशस्त्र प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार पर्सा जिल्लामा लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यही क्रममा, विशेष गुप्त सूचनाको आधारमा मिति २०८२।०८।०९ गते सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५, बटसौरा क्षेत्रमा ठूलो मात्रामा गाँजा बरामद गर्न सफल भएको छ। खेती क्षेत्रभित्र परालको कुन्युमा लुकाइ–छिपाइ राखिएको अवस्थामा २१३ किलोग्राम अवैध गाँजा फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिए।
बरामद गरिएको गाँजा २० वटा बोरा(पोकामा) प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा तस्करी तथा लागुऔषध रोकथाममा सशस्त्र प्रहरीको सक्रियता पछिल्ला दिनमा उल्लेखनीय रूपमा बढ्दै आएको जनाइएको छ।
