पर्सामा सशस्त्र प्रहरीले ४० लाख बराबरका अवैध सामान तथा सवारी साधन भन्सार बुझायो

समाचार

पर्सा,२० मंसिर ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सवारी साधन तथा मालसामान बरामद गरी करिब ४० लाख रुपैयाँ बराबरको सामग्री भन्सार कार्यालयमा बुझाएको छ।

मिति २०८२।०८।१८ गते, सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पर्सा बीरगंज महानगरपालिका–२१ परवानिपुरबाट भारततर्फबाट अवैध रूपमा ल्याइएका मधेश प्रदेश ०३–००१च ८४९२ नम्बरको टाटा योधा गाडी नियन्त्रणमा लिएको हो। उक्त गाडीमा मु.रु १,४०,००० बराबरका दुईवटा लैनो भैंसी लोड गरिएका थिए।
बरामद टाटा योधाको मूल्यांकन मु.रु २२,००,००० कायम गरिएको र गाडी तथा भैंसीसहितै सोही दिन बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, उही मितिमा सिमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको अर्को टोलीले पर्सा, जगरनाथपुर गाउँपालिका–२ मा भन्सार छली भारतबाट ल्याइएका २ वटा ई–लोडर नियन्त्रणमा लिएको छ। ती लोडरमा हालिएका १० वटा नयाँ ब्याट्री (मूल्य मु.रु २,००,०००) फेला परेको थियो। ई–लोडरको मूल्य मु.रु ६,००,००० कायम गरि भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, विभिन्न मितिमा सशस्त्र प्रहरी बल नं. १३ गण पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका भित्रका विभिन्न स्थानहरूबाट भन्सार छली ल्याइएका करिब मु.रु ६,६८,३०० बराबरका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

मिति २०८२।०८।१९ गते, बी.ओ.पी ड्राईपोर्टबाट खटिएको टोलीले बीरगंज महानगरपालिका–२५ बहुअरीबाट मु.रु १,३१,०८५ बराबरका मोटरसाइकलसहित किराना सामग्री नियन्त्रणमा लिएको छ।
त्यसैदिन, सिमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको अर्को टोलीले महानगरपालिका–१६ रेल्वेरोड क्षेत्रबाट मु.रु ४९,३०० बराबरका जुत्ता, चप्पल तथा कपडा बरामद गरी भन्सार बुझाएको जानकारी सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचनाधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक बिश्वराज योन्जनले दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *