मकवानपुर, २६ मंसिर ।
मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत कालिटार–नामटार क्षेत्रमा रातको समयमा प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले ४७० किलो गाँजा सहित एक बोलेरो पिकअप गाडी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंसिर २५ गते बिहान करिब १:०० बजे नामटारतर्फबाट भैसेतिर आइरहेको बागमती प्रदेश–१७–च–४२ नम्बरको बोलेरो पिकअपलाई शंका लागेर रोकिन संकेत गर्दा गाडी नरोकी भागेपछि प्रहरीले पछ्याएको थियो। केही दूरीपछि भीमफेदी–३, पान्द्राङस्थित ढुङ्गा खानीतर्फ जाने भित्री बाटोमा गाडी फेला पारिएको र चालक भने फरार भएको प्रहरीले जनाएको छ।
गाडीको रितपूर्वक चेकजाँच गर्दा पछाडिको ढालामा लुकाइ–छिपाइ राखिएका १७ बोराभित्र रातो प्लाष्टिकले प्याक गरिएको ५० पोकामा करिब ४७० किलो गाँजा बरामद गरिएको थियो।
उक्त गाँजा र बोलेरो पिकअप गाडी बरामद गरी लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए। फरार चालक, सवारीधनी तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
