सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा प्रतिबन्धित गाँजा बरामद ।

समाचार

पर्सा ,२५ मंसिर ।
सिमावर्ती क्षेत्रमा भइरहेको चोरी–तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साले सञ्चालन गर्दै आएको विशेष निगरानी तथा नियन्त्रण अभियान अन्तर्गत ९१ के.जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको छ।

सिमानाका क्षेत्रमा रहेका आपराधिक क्रियाकलापलाई रोकथाम गर्न दह्रो प्रतिबद्धतासहित अघि बढिरहेको सशस्त्र प्रहरी बल, नेपालले समाजमा लागुऔषध दुव्र्यसन र कारोबारले पार्ने दुरगामी नकारात्मक असरलाई ध्यानमा राख्दै पर्सा जिल्लामा लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै आएको छ।

यही क्रममा मिति २०८२।०८।२५ गते ठोरी गाउँपालिका–४, निर्मल बस्ती क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. सुवर्णपुरबाट खटिएको गस्ती टोलीलाई देखेपछि करीब ९/१० जनाको समूहले आफूसँग रहेको १० वटा प्लास्टिकका पोका फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। ती पोका नाम्लो लगाई ढाडमा बोकेर नेपालबाट भारततर्फ लैजाने तयारीमा रहेको खुल्न आएको छ।

गस्ती टोलीले नियन्त्रणमा लिएका ती पोकाहरू खोल्दा त्यसमा प्रतिबन्धित लागुऔषध गाँजा रहेको पाइएको थियो। तत्काल आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ। तोलिएको अवस्थामा उक्त गाँजाको वजन ९१ के.जी. रहेको पुष्टि गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा लागुऔषध तथा अन्य अवैध गतिविधिमाथि निगरानी निरन्तर कडा पार्दै लैजाने र यस प्रकारका गतिविधिमा संलग्नहरूविरुद्ध कडा कानूनी कारबाही अघि बढाइने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *