बिरगंज ,४ पुस।
वीरगञ्जमा खैरो हिरोइन जस्तो देखिने ४५ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा लागुऔषध कारोबारविरुद्ध ठूलो सफलता हासिल गरेको छ।
आज अपराह्न करिब २:०० बजे, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित प्रतिमा चोक नजिकको सडकखण्डमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी बसपार्क तथा लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जना व्यक्तिलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको शरीर तलासी गर्दा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १९, बिन्दवासिनी निवासी अं. वर्ष ३० का शम्भु राउत कम्करले लगाएको जिन्स पाइन्टको दायाँ खल्तीभित्र कागजले बेरेर राखिएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिकसहित ४५ ग्राम फेला परेको थियो। उक्त लागुऔषध तत्कालै बरामद गरी सो घटनासँग संलग्न अन्य तीन जनासहित चारै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार बरामद लागुऔषधसहित पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइँदैछ भने घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको छ।
पक्राउ परेका व्यक्तिहरू
- जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १९, बिन्दवासिनी बस्ने अं. वर्ष ३० का शम्भु राउत कम्कर
- जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने अं. वर्ष १९ का चन्दन कुमार पण्डित
- जिल्ला पर्सा, बहुदरमाई नगरपालिका वडा नं. १ बस्ने अं. वर्ष ४० का राज किशोर मिश्र
- भारत, बिहार राज्य, मोतिहारी जिल्ला, छटौनी थाना वडा नं. ६ बस्ने अं. वर्ष २७ का सचिन सिंह
प्रहरीले जिल्लाभर लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निरन्तर निगरानी र कडाइ बढाइएको पर्सा प्रहरी प्रमुख एसपी सुदिप राज पाठकले जानकारी दिए।
