रसीद आलम
पर्सा, ४ पुस ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियान थप प्रभावकारी बन्दै गएको छ। सोही अभियानअन्तर्गत पर्सा जिल्लाका विभिन्न सीमा नाकाबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको जम्मा रु. १६,०८,८६०।– बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले मिति २०८२।०९।०४ गते जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–२५ स्थित खलवा नाकाबाट भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरिएको रु. ७,५६,४९०।– बराबरको कपडा तथा कस्मेटिक सामान बरामद गरेको हो। उक्त सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, सोही दिन सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्जबाट खटिएको टोलिले पनि वीरगञ्ज महानगरपालिका–२५ खलवा नाकाबाट भारतबाट साइकलमा लोड गरी अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरिएको
रु. ७,४९,८००।– बराबरको कपडा, किराना, कफीदाना तथा कस्मेटिक सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ।
यस्तै, सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको टोलिले वीरगञ्ज महानगरपालिका–१७ कोनिया क्षेत्रबाट भारतबाट भन्सार छली साइकलमार्फत नेपालतर्फ ल्याइँदै गरिएको रु. १,०२,५७०।– बराबरको किराना सामान तथा एयरबट बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका अनुसार सीमा क्षेत्रमा अवैध तस्करी, चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणका लागि गस्ती, निगरानी र चेकजाँच कार्यलाई थप कडाइका साथ निरन्तरता दिइएको छ।
यस सम्बन्धमा जानकारी दिँदै गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) विश्वराज योन्जनले सीमा सुरक्षा तथा राजस्व संरक्षण सशस्त्र प्रहरीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि तस्करी नियन्त्रण अभियान अझ सशक्त रूपमा अगाडि बढाइने बताएका छन्।
