पर्सा, १२ पुस ।
बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी धोरेले विपन्न, गरिब तथा दलित समुदायलाई लक्षित गरी मानविय तथा सराहनीय कार्य सम्पन्न गरेको छ।
मिति २०८२/०९/१२ गते बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज बिर्ताको सहकार्यमा प्रहरी चौकी धोरेबाट प्रहरी सहायक निरीक्षक भन्टु राय यादवको कमान्डमा खटिएको प्रहरी टोलीले पकाहा मैनपुर गाउँपालिकाको सहयोगमा पकाहा मैनपुर गाउँपालिका वडा नं. ०१ धोरेस्थित बिपन्न, गरिब तथा दलित बस्तीलाई लक्षित गरी चिसोबाट बचाउने उद्देश्यले २२ स्थानमा आगो बाल्ने व्यवस्था गरेको जनाएको छ।
लगातार बढ्दो चिसो, बाक्लो हुस्सु र शीतलहरका कारण दैनिक मजदुरी गर्ने, अस्थायी टहरामा बसोबास गर्ने तथा न्यानो कपडा र तापको पहुँच कम भएका समुदायहरू सबैभन्दा बढी प्रभावित भइरहेका बेला प्रहरीद्वारा गरिएको यो पहलले स्थानीयवासीलाई राहत मिलेको छ। बिहानको चिसो समयमा आगो बाल्ने व्यवस्थाले विशेष गरी वृद्धवृद्धा, बालबालिका, महिला तथा बिरामी व्यक्तिहरूलाई शीतलहरबाट जोगिन सहयोग पुगेको स्थानीयले बताएका छन्।
प्रहरी चौकी धोरेले जनताको सुरक्षा केवल कानुनी दायरामा सीमित नरही विपद् तथा कठिन परिस्थितिमा मानविय सहयोगमार्फत पनि सुनिश्चित गर्नुपर्ने दायित्व रहेको बताउँदै आगामी दिनमा पनि यस्ता जनमैत्री र समाजमुखी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूले प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र र गाउँपालिकाबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश गएको भन्दै प्रहरी चौकी धोरेको यस कार्यको खुलेर प्रशंसा गरेका छन्। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र नागरिकबीचको विश्वास अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको उनीहरूको भनाइ छ।
