बिरगंज, १२ पुस ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका एसपी पुरन चन्द्र भट्टको लागु औषध नियन्त्रण अभियानलाई तीव्रता दिदै सशस्त्र प्रहरीले लागु औषध गाजासहित दुई ब्यक्तिलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, पर्सा अन्तर्गत सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। डिएसपी शम्भु कटुवालको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार शंकास्पद रूपमा मोटरसाइकलमा आवतजावत गरिरहेका दुई व्यक्तिलाई चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेको थियो। पहिलो पक्राउ पर्ने व्यक्ति भारत बिहार राज्यको बेतिया जिल्ला, बेहरा झुम्का स्थायी ठेगाना भएका ३७ वर्षीय अशोक महतो रहेका छन्। उनी सवार मोटरसाइकल नम्बर BR 22 A 302 को चेकजाँच गर्दा ४ किलो ५५० ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, दोस्रो पक्राउ पर्ने व्यक्ति सबैठवा–५, पकहा मैनपुर गाउँपालिका स्थायी ठेगाना भएका ४३ वर्षीय रबिन्द्र महतो रहेका छन्। उनी सवार मोटरसाइकल नम्बर BR 22 U 1178 बाट ५ किलो २२० ग्राम गाँजा बरामद गरिएको छ।
बरामद गरिएको गाँजा र दुवै मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार बरामद लागूऔषध सीमावर्ती क्षेत्र हुँदै ओसारपसार गर्ने प्रयास भइरहेको आशंका गरिएको छ।डिएसपी शम्भु कटुवालले सीमावर्ती क्षेत्रलाई केन्द्रमा राखी लागूऔषध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले कडा निगरानी र नियमित गस्तीलाई निरन्तरता दिएको बताए।
एसपी भट्टले समाजमा लागूऔषधको बढ्दो कारोबारले युवापुस्तालाई गम्भीर असर पारिरहेको भन्दै यस्ता अवैध गतिविधिविरुद्ध सशस्त्र प्रहरी बलले कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
स्थानीयवासीले पनि सशस्त्र प्रहरीको सक्रियताप्रति प्रशंसा गर्दै सीमाक्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक अनुशासन कायम गर्न यस्ता अभियान अझ प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
