हुस्सु तथा शीतलहर बढेसँगै ट्राफिक सचेतना अभियान तीव्र

समाचार

धनुषा, १२ पुस ।
जाडोयाममा तराई क्षेत्रमा बढ्दै गएको हुस्सु तथा शीतलहरका कारण हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्राफिक सचेतना कार्यक्रमलाई थप प्रभावकारी र तीव्र बनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाबाट प्राप्त “सडक दुर्घटनाविरुद्ध युवा २०८२ कार्ययोजना” अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धनुषा जिल्लाका विभिन्न स्थानमा अभियानकै रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम अन्तर्गत सवारी साधनहरूमा रिफ्लेक्टिभ स्टिकर टाँसिनुका साथै चालक, सह–चालक तथा यात्रुहरूलाई सडक दुर्घटना हुने कारण, सम्भावित जोखिम, रक्षात्मक सडक प्रयोगसम्बन्धी ज्ञान तथा सिप, ट्राफिक नियम, सडक अनुशासन, जिम्मेवार सवारी संस्कृतिको विकास र कानुनी पक्षलगायत विविध विषयमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले हुस्सु र शीतलहरको समयमा सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउन, गति नियन्त्रण गर्न, बत्ती र संकेतको उचित प्रयोग गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबै सवारी चालक तथा प्रयोगकर्तालाई अनुरोध समेत गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *