बिरगंज, १२ पुस ।
बङलादेशमा निर्ममतापूर्वक हत्या गरिएका अल्पसंख्यक समुदायका दिपु चन्द्र दाश र निर्मल मण्डलको आत्माको शान्ति तथा न्यायको माग गर्दै जनमत पार्टी निकट युवा दस्ता पर्साले वीरगन्जको घण्टाघरमा शान्तिपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
युवा दस्ता पर्साका अध्यक्ष मनोज साहको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले पाँच मिनेट मौन धारण गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न तथा बङलादेशमा बसोबास गर्ने अल्पसंख्यक हिन्दु समुदायलाई सुरक्षा, सम्मान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरिएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले मानवअधिकारको रक्षा र अल्पसंख्यक समुदायको सुरक्षाका विषयमा अन्तर्राष्ट्रिय समुदायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
