काठमाडौँ, ११ पुस। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६० ओटा सवारी साधन (मोटरसाइकल तथा स्कुटर) सवारी धनीलाई सफलतापूर्वक हस्तान्तरण गरेको छ।
ट्राफिक प्रहरीको सक्रिय खोजतलास, सूचनाको प्रभावकारी संकलन तथा विभिन्न स्थानमा गरिएको निगरानीका आधारमा लामो समयदेखि चोरी भएका सवारी साधनहरू फेला पारिएको कार्यालयले जनाएको छ। फेला परेका सवारी साधन आवश्यक कानुनी प्रक्रिया पूरा गरी वास्तविक सवारी धनीलाई जिम्मा लगाइएको हो।
यस अवसरमा ट्राफिक प्रहरी कार्यालयले सवारी साधन चोरी नियन्त्रण गर्न नियमित चेकजाँच, प्रविधिको प्रयोग तथा जनसहभागितालाई अझ प्रभावकारी बनाइने जानकारी दिएको छ। साथै सवारी धनीलाई सवारी साधन सुरक्षित स्थानमा पार्क गर्न, लकको प्रयोग गर्न र शंकास्पद गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ।
चोरी भएको सवारी साधन फिर्ता पाउँदा सवारी धनीहरूले खुशी व्यक्त गर्दै ट्राफिक प्रहरीको सक्रियता र प्रतिबद्धताको प्रशंसा गरेका छन्।
ट्राफिक प्रहरी कार्यालयले भविष्यमा पनि सवारी चोरी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
