बारा, १७ असार ।
मोबाइल चोरी गरेको आरोपमा चार जना बालबालिकालाई सार्वजनिक स्थलमा रुखमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा बारा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ असार १६ गते बिहान करिब ९:०० बजे बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा चार जना बालबालिकालाई बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईवालाई प्रहरीले असार १७ गते पक्राउ गरेको हो।
उनीहरूमाथि बालबालिका विरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीले कानून हातमा नलिन र कुनै पनि आरोप वा विवादको अवस्थामा सम्बन्धित निकायलाई जानकारी गराउन सबैसँग आग्रह गरेको छ।
