रसीद आलम।
मधेश प्रदेश, १७ असार।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले पर्सा र बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन्।
पर्सा र बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा डिआईजी अधिकारीले कार्यालयका विभिन्न शाखा, सेवा केन्द्र, नियन्त्रण कक्ष, अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, सूचना विश्लेषण शाखा, प्रबन्ध तथा आर्थिक प्रशासन शाखा, सामुदायिक प्रहरी शाखा, सञ्चार शाखा, कार्यालय परिसर, ब्यारेक, मेस, क्यान्टिन तथा हिरासत व्यवस्थापन कक्षको स्थलगत अनुगमन गरेका थिए।
पर्सामा आयोजित निर्देशनात्मक कार्यक्रममा उनले प्रहरी कर्मचारी तथा मातहत कार्यालयका प्रमुखहरूलाई अनुशासन, प्रहरी आचरण, व्यावसायिकता, नागरिक सर्वोच्चता, सुशासन र सेवाग्राहीमैत्री व्यवहारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
बारामा आयोजित कार्यक्रममा पनि उनले जिल्लाको शान्ति–सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै बदलिँदो परिस्थितिअनुसार छिटो, छरितो, निष्पक्ष र नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। साथै प्रहरी कर्मचारीको अनुशासन, व्यवहार, इमान्दारिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न विशेष निर्देशन दिए।
डिआईजी अधिकारीले विशेष गरी नेपाल–भारत सीमा क्षेत्रमा हुने भन्सार चोरी निकासी, तस्करी तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध कडाइका साथ परिचालन हुन, अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप सुदृढ बनाउन, सेवाग्राहीप्रति उत्तरदायी र पारदर्शी भएर काम गर्न तथा संगठनको गरिमा कायम राख्दै उच्च मनोबलका साथ त्रुटिरहित कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
उनले प्रहरी संगठनप्रतिको जनविश्वास अझ मजबुत बनाउन प्रत्येक प्रहरी कर्मचारीले अनुशासन, इमान्दारिता, सेवाभाव र कानुनको प्रभावकारी कार्यान्वयनप्रति पूर्ण प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्दै नागरिकको विश्वास जित्ने प्रहरी संगठन निर्माण नै वर्तमान प्राथमिकता भएको बताएका छन्।
