रसीद आलम,वीरगञ्ज, २९ पुस।
पर्सा जिल्लामा अवैध गतिविधि, तस्करी तथा लागू औषध कारोबार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पर्सा प्रहरीले प्रभावकारी सफलता हासिल गरेको छ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत घरेलु मदिरा ओसारपसार तथा लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
३५० लिटर घरेलु मदिरासहित हाईस गाडी नियन्त्रणमा
मिति २०८२।०९।२७ गते अपराह्न करिब २:०० बजे, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर सडकखण्डमा पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना. १ ज ८६८८ नम्बरको हाईस गाडीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उक्त गाडीभित्र लुकाइ–छिपाइ राखिएको तयारी अवस्थाको अन्दाजी ३५० लिटर घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ।
घरेलु मदिरा ओसारपसारमा संलग्न रहेको आरोपमा गाडी चालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ३८ का मनोज कुमार थिङलाई मदिरा तथा गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय, घडिअर्वामा बुझाइएको जानकारी प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले दिएका हुन्।
४ केजी ५० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ
यसैगरी, विशेष सूचनाको आधारमा मिति २०८२।०९।२७ गते बिहान करिब ७:०० बजे, वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा साईकलमा आउँदै गरेका एक व्यक्तिलाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २८ बगही बस्ने वर्ष ४५ का राम सुरेश सहनीले आफ्नो शरीरमा आकासे रंगको प्लास्टिकभित्र कालो धागोले सिलाई गरी सेतो टेपले बेरी लुकाइ–छिपाइ राखेको प्लास्टिक बाहेक तौल ४ केजी ५० ग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थसहित सहनीलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।
पक्राउ व्यक्ति विवरण
१. राम सुरेश सहनी
– ठेगाना: वीरगञ्ज महानगरपालिका वडा नं. २८, बगही
– उमेर: ४५ वर्ष
– बरामद: ४ केजी ५० ग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ
पर्सा प्रहरीले जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउँदै अवैध गतिविधि नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
