पर्सा, माघ २६ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ अन्तर्गत टेढा र रामवनमा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगन्ज महानगरको ग्रामीण क्षेत्र अझै पनि आधारभूत पूर्वाधार विकासबाट वञ्चित रहेको बताउनुभयो। उहाँले महानगरको नाममा सीमित केही क्षेत्र मात्र विकसित भएको तर ग्रामीण बस्तीहरूलाई विगतका जनप्रतिनिधिहरूले बेवास्ता र ठगी गरेको आरोप लगाउनुभयो।
“महानगरको अनुभूति ग्रामीण गाउँलेले अझै गर्न सकेका छैनन्,” उहाँले भन्नुभयो, “यदि म निर्वाचित भएँ भने यी ग्रामीण वडाहरूको समग्र विकास र समृद्धिका लागि विशेष विकास प्याकेज ल्याइनेछ।”
उम्मेदवार सरार्फले देश र मधेसको राजनीतिक, आर्थिक तथा सामाजिक निकासको स्पष्ट र प्रभावकारी भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै जनतालाई ‘हर्न’ चुनाव चिन्हमा मतदान गर्न अपिल गर्नुभयो।
भेटघाट कार्यक्रममा जनमत पार्टीका नेताहरू डा. मनोज कुमार, नजमा खातुन, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकि, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, नागेन्द्र गुप्ता, हाजारी साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय बासिन्दाहरूले विकास, रोजगारी, सडक, खानेपानी तथा शिक्षा–स्वास्थ्यका विषयमा आफ्ना समस्या र सुझावहरू उम्मेदवारसमक्ष राखेका थिए।
