रसीद आलम
वीरगञ्ज, चैत १५।पर्सा जिल्लामा घटेको एक जघन्य घरेलु हिंसाको घटनापछि पीडित परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले सराहनीय पहल गरेको छ। गम्भीर घाइते भएकी महिलाका अभिभावकलाई आर्थिक सहयोगस्वरूप नगद रकम बराबरको चेक हस्तान्तरण गरिएको हो।
जिल्ला पर्सा, पर्सागढी नगरपालिका वडा नं. ३, विरुवा टोल निवासी ३० वर्षीय विश्वनाथ सहनीले आफ्नी श्रीमती अन्दाजी २५ वर्षीया हरिकला देवी सहनीमाथि घरायसी विवादका कारण योजनाबद्ध रूपमा क्रुर तथा अमानवीय आक्रमण गरेका थिए। उनले धारिलो हतियार (दाउ) प्रयोग गरी श्रीमतीको बायाँ खुट्टा काटी गम्भीर घाइते बनाएका थिए। घटनापछि पीडितलाई रगतामै छाडी उनी फरार भएका थिए।
घटनापछि घाइते हरिकला देवी सहनीको अवस्था गम्भीर रहेको र परिवारको आर्थिक स्थिति अत्यन्त दयनीय रहेको तथ्य उजागर भएको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समितिको कोषबाट पीडितका परिवारलाई सहयोग उपलब्ध गराइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले पीडितका बुवा–आमालाई रु. ५० हजार १ सय ५ बराबरको चेक हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रहरीले यस्ता अमानवीय घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको जनाएको छ। साथै, पीडितलाई आवश्यक उपचार तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको पनि जानकारी दिइएको छ।
यस प्रकारको सहयोगले पीडित परिवारलाई तत्काल राहत पुग्नुका साथै समाजमा मानवता र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरेको स्थानीयवासीले बताएका छन्। प्रहरीले घरेलु हिंसा जस्ता घटनाप्रति शून्य सहनशीलता अपनाउने र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ।
