पर्सा, चैत १५ ।जिल्ला पर्साको पर्सागढी नगरपालिका–३ बिरुवा टोलमा श्रीमतीमाथि क्रुर आक्रमण गरी गम्भीर घाइते बनाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८२ चैत १ गते बिहान करिब ८:३० बजे स्थानीय ३० वर्षीय विश्वनाथ सहनीले आफ्नी करिब २५ वर्षीया श्रीमती हरिकला देवी सहनीमाथि घरायसी विवादका कारण पूर्वयोजना अनुसार धारिलो हतियार (दाउ) प्रहार गरेका थिए। आक्रमणका क्रममा उनले श्रीमतीको बायाँ खुट्टा काटी गम्भीर घाइते बनाएका थिए।
घटनापछि घाइतेलाई रगताम्य अवस्थामा छाडेर अभियुक्त फरार भएका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोली र स्थानीयको सहयोगमा घाइतेलाई तत्काल उपचारका लागि एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटल प्रा.लि., परवानीपुर (बारा) पठाइएको थियो।
घटनापछि फरार रहेका विश्वनाथ सहनीलाई प्रहरीले खोजी कार्य तीव्र पार्दै २०८२ चैत १४ गते दिउँसो करिब १२:३० बजे सोही स्थानबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोली तथा प्रहरी चौकी बडनिहारबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट गरी अंगभंग गरेको अभियोगमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
