बाराको नकटुवामा सशस्त्र प्रहरीको छापामारी : लाखौं मूल्यका अवैध कपडा बरामद

समाचार

वीरगञ्ज, २६ वैशाख ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले सीमा क्षेत्रमा तस्करी तथा भन्सार छलि चोरी पैठारी नियन्त्रण अभियानलाई थप कडाइ गर्दै बारा र पर्साका विभिन्न स्थानमा छापामारी गरी १४ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध कपडा तथा किराना सामान बरामद गरेको छ।

विशेष सूचनाको आधारमा गरिएको संयुक्त कारबाहीमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको टोलीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–५ नकटुवा बिर्ताटोलस्थित गोठमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको कपडा फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उक्त स्थानमा छापामारी गर्दा भारतबाट भन्सार छलि चोरी पैठारी गरी भण्डारण गरिएको १७ पोका कपडा बरामद गरेको जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य ११ लाख ७५ हजार ५ सय रुपैयाँ रहेको बताइएको छ।

बरामद गरिएका सम्पूर्ण कपडा आवश्यक कारबाही तथा राजस्व संकलन प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय भिखमपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन बोगटीको नेतृत्वमा खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्रमा समेत विशेष निगरानी अभियान सञ्चालन गरेको थियो।

विशेष सूचनाका आधारमा सीमा नजिक रहेका कच्ची घरहरूमा भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएका किराना सामान भण्डारण गरिएको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी, प्रहरी चौकी बलुवा तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा विभिन्न प्रकारका किराना सामान बरामद गरिएको छ। बरामद सामानको अनुमानित मूल्य २ लाख ३५ हजार ५ सय रुपैयाँ रहेको जनाइएको छ। उक्त सामानसमेत थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

सीमा क्षेत्रमा पछिल्लो समय भन्सार छलि हुने गतिविधि बढ्दै गएपछि सशस्त्र प्रहरीले निगरानीलाई थप प्रभावकारी बनाएको जनाएको छ। विशेषगरी खुला सीमाको फाइदा उठाउँदै तस्कर समूहले रातिको समयमा कपडा, किराना तथा अन्य सामग्री नेपाल भित्र्याउने प्रयास गर्दै आएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि नियमित गस्ती, निगरानी तथा सूचनाको आधारमा छापामारी अभियानलाई निरन्तरता दिइएको जानकारी दिए।

उनका अनुसार राजस्व चुहावट नियन्त्रण गर्नुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापार रोक्न सशस्त्र प्रहरी बलले स्थानीय प्रहरी, भन्सार कार्यालय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी अभियान सञ्चालन गरिरहेको छ।

हाल बरामद सामानको स्रोत, संलग्न व्यक्ति तथा तस्करी सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *