होटलको कोठामा बसेकी युवतीको मृत्यु प्रकरण : बारा प्रहरीको तीव्र अपरेसनमा केही घण्टामै दुई जना पक्राउ

समाचार

बारा, २६ बैशाख । बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवरको निर्देशनमा प्रहरीले तीव्र अपरेसन सञ्चालन गर्दै होटलको कोठाभित्र बसेकी एक युवतीको मृत्यु प्रकरण घटनामा संलग्न आशंकामा रहेका दुई जनालाई केही घण्टामै पक्राउ गरेको छ।

मिति २०८३ वैशाख २५ गते राति करिब १० बजे बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा एक युवती घाइते अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार निजगढ नगरपालिका–१२ बस्ने २५ वर्षीया सीता थिङ होटलको कोठाभित्र गम्भीर अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल उद्धार गरी सामुदायिक अस्पताल प्रसुति गृह निजगढ पुर्‍याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले होटलको कोठामा रहेकी अर्की युवती निजगढ नगरपालिका–९ बस्ने अन्दाजी १८ वर्षीया अनु सुनारसँग प्रारम्भिक सोधपुछ गरेको थियो। अनुसन्धानका क्रममा मृतकसँगै होटलमा आएका दुई जना पुरुष घटनास्थलबाट फरार रहेको खुलेपछि जिल्ला प्रहरी कार्यालय बाराले विशेष खोजतलास अभियान सञ्चालन गरेको थियो।

फरार हुनेहरूमा जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्ती बस्ने ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन रहेका थिए। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुवर स्वयंको नेतृत्वमा खटिएको टोली तथा इलाका प्रहरी कार्यालय निजगढको संयुक्त टोलीले प्राविधिक विश्लेषणसहित व्यापक खोजतलास थालेको थियो।

सोही क्रममा प्रहरीले राति करिब १ बजे सुनिल बोम्जनलाई टाङ्गिया बस्ती नजिकै जंगल क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको थियो। त्यसपछि निरन्तर खोजी जारी राख्दै प्रहरीले बिहान करिब ४ बजे महेश माझीलाई निजगढ नगरपालिका–७ माझीटोलबाट पक्राउ गरेको जनाएको छ।

घटनाको गम्भीरता मध्यनजर गर्दै बारा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। युवतीको मृत्युको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान, बयान संकलन तथा प्राविधिक परीक्षणको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनापछि स्थानीय क्षेत्रमा त्रास र चासो बढेको छ भने होटल सुरक्षामाथि समेत प्रश्न उठ्न थालेको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत अनुसन्धान जारी रहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *