पर्सा, असार २० ।
भारतबाट अवैध रूपमा भन्सार छली गरी चोरीपैठारीमार्फत नेपाल भित्र्याइएको दुईवटा जर्सी गाई लोड गरिएको पिकअप गाडी सशस्त्र प्रहरी बल, नेपालले पर्साको बीरगञ्जमा नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा मिति २०८२ साल असार २० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको गस्ती टोलीले बीरगञ्ज महानगरपालिका–२४ रामगढवा गाउँ नजिकै प्रदेश २–०३–००१ च ३३५६ नम्बरको सेतो YODHA पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो।
जाँचको क्रममा गाडीमा दुईवटा जर्सी गाई लोड गरिएको पाइयो भने चालकसँग गाईका जात, परिमाण र अन्य कुनै पनि आवश्यक कागजातहरू फेला परेनन्। नियन्त्रणमा लिने प्रयास गर्दा चालक गाडी र गाई बेवारिसे छाडी फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त गाडी र गाईहरूको अनुमानित भन्सार मूल्य करिब २० लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ। बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जानकारी दिएको छ।
