तस्करी नियन्त्रणमा बाराका सशस्त्र प्रहरी सक्रिय : ३ लाख बराबरका अवैध सामानसहित मोटरसाइकल बरामद

समाचार

बारा ,३ जेठ । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सीमावर्ती क्षेत्रमा तस्करी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्र बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। गणका प्रमुख एसपी बिशाल सिलवालको निर्देशनमा सञ्चालन भइरहेको विशेष निगरानी अभियान अन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वा तथा बि.ओ.पी. बेनौलीबाट खटिएको संयुक्त टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा करिब ३ लाख रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा १९२ थान स्टिलका जग, किराना सामग्री लगायत अन्य विभिन्न सामान नियन्त्रणमा लिइएको छ। उक्त सामान ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरी बल बाराका सूचना अधिकारी डिएसपी बिक्रम मणि अधिकारीले जानकारी दिएका छन्।
बरामद गरिएको सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्र हुँदै दैनिक उपभोग्य वस्तु, कपडा, इलेक्ट्रोनिक्स तथा किराना सामग्रीको अवैध ओसारपसार बढ्दै गएपछि सशस्त्र प्रहरीले निगरानी थप कडा बनाएको हो।

एसपी बिशाल सिलवालले सीमाक्षेत्रमा हुने चोरीपैठारी, राजस्व चुहावट तथा अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी बल निरन्तर सक्रिय रहेको बताए। उनले सीमा क्षेत्रमा पैदल गस्ती, सवारी चेकजाँच, विशेष निगरानी तथा सूचनाको आधारमा अपरेशन सञ्चालन भइरहेको उल्लेख गर्दै सीमालाई सुरक्षित र व्यवस्थित बनाउन कुनै कसर बाँकी नराखिने स्पष्ट पारे।

उनका अनुसार सीमा सुरक्षा केवल अवैध सामान नियन्त्रणमा सीमित नभई राष्ट्रिय अर्थतन्त्र, राजस्व संरक्षण तथा सामाजिक सुरक्षासँग समेत प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले सशस्त्र प्रहरी बलले यसलाई प्राथमिकताका साथ अघि बढाएको छ। सीमाक्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध स्थानीयवासीको समेत सहयोग आवश्यक रहेको उनले बताए।

हाल बारा जिल्लाका विभिन्न सीमा नाकाहरूमा सशस्त्र प्रहरी बलले नियमित रूपमा निगरानी बढाएको छ। सशस्त्र प्रहरीको सक्रियतापछि सीमावर्ती क्षेत्रमा अवैध कारोबार गर्ने समूहहरूमा त्रास फैलिएको स्थानीयवासी बताउँछन्।

सशस्त्र प्रहरी बलले आगामी दिनमा पनि सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै तस्करी नियन्त्रण अभियानलाई अझ सशक्त रूपमा अघि बढाइने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *