वीरगञ्ज, १२ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले तस्करी नियन्त्रण अभियानलाई थप आक्रमक बनाउँदै वीरगञ्ज भन्सार क्षेत्रबाट ११ लाखभन्दा बढी मूल्यका अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन भइरहेको विशेष तस्करी नियन्त्रण अभियानअन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सारले विभिन्न सीमावर्ती नाकाबाट अवैध रूपमा भित्र्याइएका सामान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार करिब ११ लाख ६ हजार ९ सय ५५ रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
विशेष गरी सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सारका डिएसपी विकास अधिकारीको कमान्डमा खटिएको टोलीले इनर्वा–बलिरामपुर सीमाक्षेत्र, बसपार्क आसपास तथा अन्य संवेदनशील नाकाहरूमा कडाइका साथ निगरानी बढाएको थियो। सोही क्रममा करिब ९ लाख ३ हजार २ सय रुपैयाँ बराबरका दुई वटा अटो सहित विभिन्न प्रकारका कपडा बरामद गरिएको जनाइएको छ।
बरामदमध्ये अटोको मात्रै मूल्य करिब ८ लाख रुपैयाँ रहेको छ भने कपडाको मूल्य १ लाख ३ हजार २ सय रुपैयाँ रहेको बताइएको छ।

त्यसैगरी, भारतबाट अवैध रूपमा भित्र्याइएका ९७ थान मोबाइल डिस्प्ले समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त मोबाइल डिस्प्लेको अनुमानित मूल्य करिब १ लाख ९४ हजार रुपैयाँ रहेको जनाइएको छ। साथै भारतबाट भन्सार छली गरी ल्याइएका तरकारी तथा फलफूलसहित दुई वटा साइकल समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल पर्साले पछिल्लो समय तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै सीमाक्षेत्रमा पैदल गस्ती, सवारी चेकजाँच तथा विशेष निगरानीलाई प्रभावकारी बनाएको छ। सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा सीमावासीको सुरक्षालाई केन्द्रमा राखेर नियमित रूपमा सुरक्षा टोली परिचालन गरिएको सशस्त्र प्रहरीको भनाइ छ।

विशेष गरी वीरगञ्ज भन्सारको मुख्य नाकामा डिएसपी विकास अधिकारीको नेतृत्वमा कडाइका साथ सुरक्षा व्यवस्था लागू गरिएको छ। लागूऔषध, विस्फोटक पदार्थ तथा हातहतियार ओसारपसार रोक्न तालिमप्राप्त कुकुरको समेत प्रयोग गरी सुरक्षा निगरानी बढाइएको छ।
स्थानीयवासीका अनुसार पछिल्लो समय सशस्त्र प्रहरीको सक्रियतापछि संगठित तस्करीमा उल्लेख्य कमी आएको छ। सीमावर्ती क्षेत्रमा अवैध कारोबार गर्ने समूहहरू पलायन हुन थालेका छन् भने कतिपय व्यक्तिहरू वैधानिक व्यापारतर्फ आकर्षित भएको स्थानीयको भनाइ छ।
सशस्त्र प्रहरी बल पर्साले सीमा क्षेत्रमा हुने तस्करी, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिविरुद्ध आगामी दिनमा अझ प्रभावकारी ढंगले अभियान सञ्चालन गरिने जनाएको छ।
