वीरगञ्ज, ४ असार । मनसुनको समयमा आउन सक्ने बाढी, डुबान, आगलागी तथा अन्य प्राकृतिक एवं मानवजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सञ्चालन गरेको तीनदिने ‘विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बलको आयोजनामा तथा वीरगञ्ज महानगरपालिका को समन्वयमा सञ्चालन गरिएको उक्त तालिम २०८३ असार २ गतेदेखि सुरु भएको थियो। तालिममा स्थानीय समुदायका ३० जना स्वयंसेवक सहभागी भएका थिए।
तालिम अवधिभर सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षकहरूले विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धार, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपायलगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण दिएका थिए। सहभागीहरूलाई विपद्को समयमा समुदायस्तरमै तत्काल उद्धार तथा राहत कार्यमा सक्रिय हुन सक्ने क्षमताको विकास गराइएको बताइएको छ।
तालिम समापन समारोहमा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा सहभागी भएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री सहित अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बलका अनुसार मनसुनजन्य विपद्को जोखिम बढिरहेका बेला समुदायमै दक्ष स्वयंसेवक तयार पार्ने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको हो। तालिमबाट प्रशिक्षित स्वयंसेवकहरूले विपद्को समयमा खोज तथा उद्धार, प्राथमिक उपचार र राहत व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार यस तालिमले वीरगञ्ज क्षेत्रमा सम्भावित विपद्जन्य क्षति न्यूनीकरण गर्न तथा जनधनको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
