वीरगञ्ज, असार १० । पर्सा प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत ठूलो सफलता हासिल गर्दै लाखौं रुपैयाँ बराबरको प्रतिबन्धित लागू औषध ट्रामाडोल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले १ लाख २० हजार ६ सय २० वटा ट्रामाडोल ट्याब्लेटसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार असार १ गते राति ११:५६ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डकचोक सडकखण्डबाट दुईवटा मालवाहक ट्रकमा राजस्व छली गरी बिल–विजकभन्दा बढी औषधि तथा अन्य खुद्रा सामान लोड गरी वीरगञ्जबाट काठमाडौं र मोरङतर्फ लैजाँदै गरिएको भन्ने विशेष सूचना प्राप्त भएको थियो।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बा.प्र.०३–००१ ख ३३४६ र ना.६ ख ५५०१ नम्बरका मालवाहक ट्रकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान थालेको थियो। ट्रकहरूमा लोड गरिएको सामान बिल–विजकभन्दा बढी रहेको आशंकामा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको थियो।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले असार ८ गते ती ट्रकहरूको विस्तृत जाँच गर्दा बा.प्र.०३–००१ ख ३३४६ नम्बरको ट्रकबाट Tramadol Hydrochloride IP-50 (Tramol) नामक प्रतिबन्धित लागू औषध फेला परेको थियो। प्रहरीले उक्त ट्रकबाट १२ हजार ६२ पत्ता (Strips) मा प्याक गरिएको, प्रत्येक पत्तामा १० ट्याब्लेटका दरले जम्मा १ लाख २० हजार ६ सय २० वटा ट्रामाडोल ट्याब्लेट बरामद गरेको जनाएको छ।
बरामद गरिएको लागू औषधको अनुमानित बजार मूल्य ९ लाख ८४ हजार २५९ रुपैयाँ रहेको बताइएको छ। लागू औषध बरामद भएसँगै उक्त ट्रक र ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–७ निवासी २३ वर्षीय सुशिल घले लाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी हरि बहादुर बस्नेत का अनुसार पक्राउ परेका चालक र बरामद लागू औषध सम्बन्धमा लागू औषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको छ। उनले लागू औषध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि प्रहरीले सीमा क्षेत्रदेखि राजमार्गसम्म निगरानी बढाएको बताए।
पछिल्लो समय पर्सा जिल्ला लागू औषध ओसारपसारको ट्रान्जिट मार्गका रूपमा प्रयोग हुन थालेपछि प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको छ। सोही अभियान अन्तर्गत गरिएको निगरानी र सूचनाको प्रभावकारी परिचालनका कारण ठूलो परिमाणमा प्रतिबन्धित औषध बरामद गर्न सफलता मिलेको प्रहरीको भनाइ छ।
नियन्त्रणमा लिइएका व्यक्ति तथा सवारी
- बा.प्र.०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रक
- सुशिल घले (२३ वर्ष), थाहा नगरपालिका–७, मकवानपुर (चालक)
- बरामद सामग्री
Tramadol Hydrochloride IP-50 (Tramol) ट्याब्लेट - जम्मा १,२०,६२० वटा ट्याब्लेट
अनुमानित मूल्य रु. ९,८४,२५९
पर्सा प्रहरीले लागू औषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै सीमावर्ती क्षेत्र र मुख्य राजमार्गहरूमा निगरानी तथा चेकजाँचलाई थप कडा बनाउने जनाएको छ। प्रहरीको यो कारबाहीलाई जिल्लामा लागू औषध तस्करी नियन्त्रणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
