सशस्त्र प्रहरीद्वारा ९० केजी अवैध माछा बरामद, खाल्टो खनेर नष्ट

समाचार

बारा, असार ९ । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरिया सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मरेको माछा बरामद गरेको छ।

सशस्त्र प्रहरी बलको बिओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोलीले सीमाक्षेत्रमा निगरानी गर्ने क्रममा उक्त माछा बरामद गरेको हो।

प्रहरी टोलीलाई देख्नेबित्तिकै भारतबाट एक व्यक्तिले साइकलमार्फत नेपालतर्फ ल्याउँदै गरेको करिब ९० किलोग्राम मरेको माछा सोही स्थानमा छाडेर साइकलसहित फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद माछाको अनुमानित मूल्य रु. २७ हजार रहेको छ।

बरामद गरिएको माछा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने भएकाले आवश्यक प्रक्रिया पूरा गरी बिओपी बरैनिया परिसरभित्र खाल्टो खनेर नष्ट गरिएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।

माछा नष्ट गर्ने कार्यमा स्थानीय जनप्रतिनिधि, पत्रकार, सीमा प्रहरी चौकी बलिरामपुर, पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि तथा स्थानीय बासिन्दाको समेत सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बल बाराले सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी तथा भन्सार छली नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *