पर्सा,९ असार । अनुदानमा उपलब्ध गराइने रासायनिक मल अवैध रूपमा भण्डारण गरी कालोबजारी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय पोखरिया र इलाका प्रहरी कार्यालय कालिकामाई बाट खटिएको संयुक्त प्रहरी टोलीले पर्साको कालिकामाई गाउँपालिका–५ निवासी बिरेन्द्र प्रसाद चौरसियालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चौरसियाले सरकारी अनुदानमा वितरण गरिने युरिया मल अवैध रूपमा भण्डारण गरी कालोबजारी गरिरहेको सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा १७ बोरा युरिया मल बरामद गरिएको छ।
बरामद गरिएको मलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।
कृषि उत्पादनका लागि अत्यावश्यक मानिने अनुदानको मलको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गतिविधिविरुद्ध प्रहरीको निगरानी र कारबाहीलाई थप कडा बनाइएको जनाइएको छ।
