प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा सिरहामा गोली प्रहारपछि कुख्यात लागुऔषध कारोबारी पक्राउ

समाचार

सिरहा, असार ८ । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै गोली प्रहार गरी कुख्यात लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।  सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा गरिएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय रंजितकुमार पासवान उर्फ ‘छोटु’ तथा एक नाबालकलाई नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल को कमान्डमा जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार शाखाको संयुक्त टोलीले लागुऔषध कारोबारमा संलग्न समूहविरुद्ध अपरेशन चलाएको थियो।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा छोटु र उनको समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दै भारततर्फ भाग्ने प्रयास गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर तथा एक राउन्ड गोली प्रहार गरेको थियो। प्रहरीको गोली छोटुको दायाँ पिडुँलामा लागेको छ।

घटनामा ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर समेत घाइते भएका छन्। घाइते दुवैजनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख बासुदेव पाठकले जानकारी दिए।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका छोटु सिरहा तथा आसपासका क्षेत्रमा सक्रिय कुख्यात लागुऔषध कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ। विभिन्न समयमा पक्राउ परेका अधिकांश लागुऔषध प्रयोगकर्ताहरूले ब्राउन सुगर उनकै सञ्जालमार्फत खरिद गर्ने गरेको बयान दिएको प्रहरीको दाबी छ।

एसपी पाठकका अनुसार छोटुले हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलोग्राम ब्राउन सुगर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उनले संगठित गिरोह बनाएर लागुऔषध कारोबार सञ्चालन गर्दै आएको र वितरणका लागि नाबालकहरूको समेत प्रयोग गर्ने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

सिरहा प्रहरीले घटनालाई जिल्लाकै ठूलो लागुऔषध नियन्त्रण कारबाहीमध्ये एक भन्दै यस नेटवर्कसँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी तथा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *