बिरगंज भन्सार गुल्मका डिएसपी अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीको ठूलो सफलता : एकै दिन १२ लाखभन्दा बढीका अवैध सामान बरामद

समाचार

वीरगञ्ज, असार ८ । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइने अवैध सामान नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सशस्त्र प्रहरी बलले पर्साको सीमावर्ती क्षेत्रमा एकै दिन १२ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान तथा सवारी साधन बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको निर्देशन तथा तस्करी नियन्त्रण अभियानअन्तर्गत वीरगञ्ज भन्सार गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारीको नेतृत्वमा सञ्चालन गरिएको विशेष निगरानीका क्रममा उक्त सफलता हासिल भएको हो।

सीमाक्षेत्रमा अवैध कारोबार र भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले पछिल्लो समय निगरानी थप कडा बनाएको छ। सोही अभियानअन्तर्गत सोमबार दिनभर सञ्चालन गरिएको विभिन्न गस्ती तथा चेकिङ अभियानमा फलफूलदेखि अत्याधुनिक ल्यापटप र ठूलो परिमाणमा कपडासम्म बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

फलफूलसहित साइकल नियन्त्रणमा

सशस्त्र प्रहरीका अनुसार सोमबार बिहान ११:४० बजे वीरगञ्ज महानगरपालिका–१६ ईनरुवा सीमा क्षेत्रमा सप्रनानी अनिलकुमार ठाकुरको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको फलफूल बरामद गरेको थियो।

गस्ती टोलीलाई देख्नेबित्तिकै सामान बोकेर आएका व्यक्ति साइकल छाडेर फरार भएका थिए। टोलीले करिब १३ केजी स्याउ र २५४ केजी मौसमीसहित अन्दाजी १२ हजार रुपैयाँ बराबरको फलफूल बरामद गरेको जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

चार लाख रुपैयाँ बराबरको म्याकबुक एयर बरामद

त्यसैगरी दिउँसो १:३० बजे सोही ईनरुवा सीमा क्षेत्रमा सप्रनानी सुरेशकुमार घलानको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले भारतबाट झोलामा बोकेर ल्याइँदै गरेको चार थान म्याकबुक एयर ल्यापटप बरामद गरेको छ।

सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै ल्यापटप बोकेका व्यक्ति सामान छाडेर फरार भएका थिए। चार्जरसहित बरामद गरिएका चारवटै ल्यापटपको अनुमानित मूल्य चार लाख रुपैयाँ रहेको बताइएको छ। बरामद ल्यापटपलाई पनि आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

ई-रिक्सा र कपडासहित ८ लाखभन्दा बढीको सामान बरामद

दिनकै सबैभन्दा ठूलो सफलता साँझ ६:५० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित बाइपास क्षेत्रमा प्राप्त भएको सशस्त्र प्रहरीले जनाएको छ।

डिएसपी विकास अधिकारी स्वयंको कमाण्डमा खटिएको सात सदस्यीय मोबाइल गस्ती टोलीले भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइँदै गरेको ना २ ह ५५९३ नम्बरको ई-रिक्सा रोकेको थियो। गस्ती टोलीलाई देखेपछि चालक तथा संलग्न व्यक्तिहरू ई-रिक्सा र सामान छाडेर फरार भएका थिए।

जाँचका क्रममा ई-रिक्सामा ठूलो परिमाणमा थान कपडा लोड गरिएको अवस्थामा फेला परेको थियो। टोलीले अन्दाजी चार लाख आठ हजार रुपैयाँ बराबरको एम्बासडर सुटिङ कपडा, कुर्ता–सुरुवालका थान कपडा तथा चार लाख रुपैयाँ मूल्य बराबरको ई-रिक्सा बरामद गरेको जनाएको छ। यसरी उक्त कारबाहीबाट मात्रै आठ लाख आठ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान नियन्त्रणमा आएको छ।

तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी आक्रामक

पछिल्लो समय पर्सा–वीरगञ्ज सीमाक्षेत्रबाट फलफूल, कपडा, इलेक्ट्रोनिक सामग्री, खाद्यान्न लगायतका वस्तुहरू अवैध रूपमा नेपाल भित्र्याउने प्रयास भइरहेका बेला सशस्त्र प्रहरीले निगरानी तथा गस्ती बढाएको छ। विशेषगरी ईनरुवा, छपकैया, बाइपास तथा अन्य सीमावर्ती नाकाहरूमा चौबीसै घण्टा निगरानी राखिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

एकै दिन सञ्चालन गरिएको तीनवटा छुट्टाछुट्टै कारबाहीमा कुल १२ लाख २० हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा सवारी साधन बरामद भएको छ। बरामद सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले सीमाक्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अवैध कारोबार नियन्त्रणका लागि आगामी दिनमा पनि यस्ता अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ। डिएसपी विकास अधिकारीको नेतृत्वमा भएको यो कारबाहीलाई पर्सा जिल्लामा पछिल्लो समय तस्करी नियन्त्रणतर्फको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *