भारततर्फ लैजाँदै गरेको ११ किलो गाँजा जस्तो देखिने पदार्थसहित पर्सामा एक जना पक्राउ

समाचार

वीरगञ्ज, १६ असार । पर्साको सीमावर्ती क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ११ किलोग्राम गाँजा जस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार सोमबार बिहान करिब २:०० बजे बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रमा बी.ओ.पी. प्रसौनीभाठ्ठा र बी.ओ.पी. अमरपट्टीबाट खटिएको संयुक्त पैदल गस्ती टोलीले शंकास्पद अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी अन्दाजी ५८ वर्षीय मनोहर सहनी रहेका छन्। उनी भारततर्फ जाँदै गरेको अवस्थामा बोकेको प्लास्टिकको बोराको खानतलासी गर्दा दुई वटा पोकामा राखिएको करिब ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ तथा पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाइएको जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *