वीरगञ्ज, असार १०। सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा सुरक्षित यातायातप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरगञ्जको घण्टाघर चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको आयोजनामा सञ्चालन भएको “ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३” अन्तर्गत सातौं तथा अन्तिम दिन “ट्राफिक नियमको पालना गरौं, सवारी दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।
मंगलवार बेलुकी ७ बजे सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, यातायात व्यवस्था कार्यालय नारायणी पर्साका कार्यालय प्रमुख, सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटी छप्कैयाका पदाधिकारी, 100 Groups पर्साका प्रतिनिधि, विभिन्न क्लब तथा संघ–संस्थाका प्रतिनिधि, चालक, व्यवसायी, प्रहरी कर्मचारी, नगर प्रहरी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न समयमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूको स्मरण तथा सम्मानमा दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले मृतकहरूको चिरशान्तिको कामना गर्दै सुरक्षित सवारी सञ्चालन र ट्राफिक नियमको पालनाप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले दीप प्रज्वलन केवल मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने माध्यम मात्र नभई सम्पूर्ण नागरिकमा सडक सुरक्षाप्रति चेतना जगाउने, आत्मसमिक्षा गर्ने र दुर्घटनाका गम्भीर कारणहरूलाई स्वीकार गर्दै सुधारतर्फ अग्रसर हुने अवसरसमेत भएको बताउनुभयो।
उहाँले ट्राफिक नियमको पूर्ण पालना, जिम्मेवार सवारी सञ्चालन तथा सामूहिक सचेतनाबाट मात्र सडक दुर्घटनामा कमी ल्याउन सकिने उल्लेख गर्दै सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै सम्पन्न भएको उक्त कार्यक्रमसँगै ट्राफिक सप्ताह–२०८३ औपचारिक रूपमा समापन भएको छ।
आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रममार्फत ट्राफिक नियमको पालना, सुरक्षित यात्रा तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सन्देश हजारौं नागरिकसम्म पुर्याइएको छ।
