पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेरबदल गर्न प्रशासनको निर्देशन

समाचार

वीरगञ्ज, असार १६ ।जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सबै स्थानीय तहलाई सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झण्डाको नियमित मर्मत, संरक्षण र आवश्यक परे तत्काल फेरबदल गर्न निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको परिपत्रमा पर्साका विभिन्न चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थलमा स्थानीय तहले राखेका नेपालको राष्ट्रिय झण्डा च्यातिएको, रङ्ग उडेको तथा फोहोर अवस्थामा रहेको भन्दै जनस्तरबाट व्यापक गुनासो प्राप्त भएको उल्लेख गरिएको छ।

परिपत्रमा नेपालको राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतीक भएकाले यसको मर्यादा र सम्मान जोगाउनु सबैको साझा संवैधानिक तथा नागरिक कर्तव्य भएको स्मरण गराइएको छ। साथै ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ अनुसार सार्वजनिक स्थानमा प्रयोग हुने झण्डा सधैं सफा, सग्लो र मर्यादित अवस्थामा हुनुपर्ने कानुनी व्यवस्था रहेको पनि प्रशासनले जनाएको छ।

जिल्ला प्रशासनले स्थानीय तहलाई च्यातिएका, रङ्ग उडेका वा फोहोर भएका झण्डा तत्काल हटाएर तोकिएको मापदण्डअनुसारका नयाँ झण्डा राख्न, सार्वजनिक स्थानमा रहेका झण्डाको नियमित अनुगमन गर्ने प्रणाली विकास गर्न, पुराना तथा मक्किएका झण्डालाई कार्यविधिअनुसार सम्मानपूर्वक सुरक्षित रूपमा विसर्जन गर्न तथा झण्डा राखिएका स्थानको सरसफाइ र सुरक्षाको जिम्मेवारी सम्बन्धित स्थानीय तहले नै लिन निर्देशन दिएको छ।

प्रशासनले राष्ट्रिय झण्डाको सम्मान र संरक्षणमा कुनै पनि लापरवाही नगर्न सबै स्थानीय तहलाई आग्रह गर्दै निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न समेत अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *