बागमतीमा आएको बाढीबाट सुन्दरीघाट होल्डिङ सेन्टरका बासिन्दाको सकुशल उद्धार

समाचार

काठमाडौं ,२७ असार ।बागमती नदीमा आएको पानीको बहाव बढेपछि काठमाडौंको कीर्तिपुर नगरपालिका–१०, सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानमा परेका व्यक्तिहरूलाई सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट र नेपाल प्रहरीको संयुक्त टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

मिति २०८३ असार २७ गते गरिएको उद्धार अभियानमा सुरक्षाकर्मीहरूले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्दै सम्भावित मानवीय क्षति हुनबाट जोगाएका हुन्।

निरन्तरको वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि नदी किनारका बस्तीहरू उच्च जोखिममा परेका छन्। सुरक्षा निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन, अनावश्यक रूपमा नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचनाको पालना गर्न आग्रह गरेको छ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनामा चौबीसै घण्टा तयारी अवस्थामा रही आवश्यक उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *